रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको निति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका २८ घर फुसको छानामुक्त भएका छन् । आर्थिक वर्ष २०७७/०७८ को नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७८/२०७९ भित्र नगरपालिका भित्रका सबै घर फुसको छानामुक्त हुनेछन् । नगरपालिकाले सुरक्षित आवास कार्यक्रम सन्चालन गरेको छ ।
नगरपालिकाले फुसको छाना भएको घरधुरी संख्या संकलन गरी यो वर्ष २८ घर खुसको छाना मुक्त भएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी घर भने आगामी आर्थिक वर्ष भित्र फुसको छानामुक्त हुनेछन् ।
'प्रत्येक फुसको छाना भएको घरलाई ५० हजारको दरले दिएका छौं,' नगर प्रमुख शर्माले भन्नुभयो 'त्यो पैसाले घरको छाना बदलिने छ । घर नभएकाहरुको जनता आवासबाट घर बन्नेछन् भने नगरपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रमबाट खुसको छाना भएको घरको छाना बदलिने छ ।' नगरपालिकाले विद्यालय पनि जस्ताकाे छानामुक्त बनाउने कार्यक्रम तय गरेकाे छ ।