Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सामाजिक सुरक्षा कोषको विरोध 

रुकुम पश्चिममा पनि सामाजिक सुरक्षा कोषको विरोध गरिएको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै जिल्लाका बैंक तथा वित्तीय संस्थाले पनि आन्दोलन सुरु गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले आज मुसीकोटमा विरोध र्याली निकालेका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने लेखिएका ब्यानर सहित जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुले मुसीकोट खलंगामा विरोध र्याली निकालेका हुन् ।

जवरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन खोजेको र सरकारी तथा नीजि क्षेत्रका कर्मचारीहरुलाई विभेद गर्न खोजिएकाले आफुहरु आन्दोलनमा रहेको शिद्धार्थ बैंक रुकुम पश्चिमका शाखा प्रवन्धक उपेन्द्र बिष्टले जानकारी दिनुभयो । आफूहरुले खाईपाई आएको सुबिधा घट्ने गरी जबरजस्ती कोषमा आवद्ध गराउन खोजेकाले देशव्यापी रुपमा आन्दोलन भइरहेको उहाँले बताउनुभयो । जिल्लामा रुकुमेली बैंक तथा वित्तिय संस्था कर्मचारी क्लबको आयोजनामा बिरोध जनाईएको उहाँको भनाई छ । उहाँका अनुसार जिल्लाका सबै निजी बैंक तथा वित्तिय संस्थाहरु आन्दोलनमा रहेका छन् ।  

सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि देशभरका बैंक तथा वित्तिय संस्थाहरु आन्दोलित भएका छन् । उनीहरुले आफूहरुको खाइपाई आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण देखाएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अस्वीकार गरिरहेका छन् । आफुहरु कोषमा सहभागी हुन चाहेको तर अहिलेकै अवस्थामा भने सहभागी हुन नसक्ने उनिहरुको भनाई छ ।

उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकूल असर पार्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना नगराउने गरी परमादेश जारी गर्न माग सहित आइतबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् ।  


 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update