Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
गाउँ सभामा बजेट पेश गर्दै त्रिवेणि गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट ।

रुकुम पश्चिमका आधा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नगर तथा गाउँसभामा पेश गरेको नीति, कार्यक्रम र बजेट पास गरेका छन् । असार १० गते भित्र गाउँ तथा नगरसभामा नीति, कार्यक्रम र बजेट पेश गरेका जिल्लाका ६ मध्य ३ स्थानीय तहले मात्र हालसम्म नीति, कार्यक्रम र बजेट पास गरेका छन् । 

अहिलेसम्म चौरजहारी नगरपालिका, त्रिवेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकाले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट पास गरेका हुन् । चौरजहारी नगरपालिकाले असार १० गते नीति कार्यक्रम र असार ११ गते बजेट पास गरेको हो । नगरपालिकाले आगामी वर्षका लागि ५८ करोड ६५ लाख ६९ हजार बजेट विनियोजन गरेको छ । 

त्रिवेणि गाउँपालिकाले असार १५ गते नीति, कार्यक्रम र बजेट दुवै पास गरिसकेको छ । गाउँपालिकाले आगामी वर्षका लागि ४४ करोड २४ लाख ९३ हजार बजेट छुट्याएको छ । बाँफिकोट गाउँपालिकाले पनि नीति कार्यक्रम र बजेट पास गरेको छ । असार १० गते नै नीति, कार्यक्रम र बजेट पास गरेको गाउँपालिकाले असार १९ गते बजेट पास गरेको हो । 

गाउँपालिकाको बजेट ४६ करोड ६७ लाख ६२ हजार रहेको छ । अव मुसीकोट र आठबीसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाले बजेट पास गर्न बाँकी छ । यि स्थानीय तहले नीति र कार्यक्रम भने पास गरिसकेका छन् । पेश भएकै दिन नीति र कार्यक्रम पेश गरेका यि स्थानीय तहले बजेटमा आवश्यक छलफल चलिरहेको जनाएका छन् । 

सबैभन्दा पहिला असार ८ गते नीति, कार्यक्रम र बजेट ल्याएको सानीभेरी गाउँपालिकाले असार २५ गते बजेट पास गर्ने जनाएको छ । गाउँपालिकाले ४८ करोड ६३ लाख ६८ हजार बजेट गाउँसभामा पेश गरेको छ । मुसीकोटले असार २४ गते बजेट पास गर्ने बताएको छ । उसले ७९ करोड ५७ लाख ५७ हजार बजेट ल्याएको छ । 

८५ करोड २० लाख ६२ हजार २ सय ४० रुपैंयाको बजेट पास गर्न आठबीसकोटले असार २९ गते नगर सभाको तेस्रो बैठक बोलाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update