रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथनमा स्थानीयले बर्चस्व कायम गरेका छन् । महिला तथा पुरुष दुवै तर्फ स्थानीयले स्थान ल्याएका छन् । तेस्रो गुरिल्ला अल्ट्रा म्याराथनको पुरुषतर्फ भूमे गाउँपालिका २, का हिमाल बुढा मगर प्रथम हुँदा भूमे गाउँपालिका ६ कै करमान बुढा मगर दोस्रो हुनु भएको छ ।
मंगलबार भएको म्याराथनमा अरु १ सय ७ जना प्रतिसप्रधीलाई पछि पार्दै हिमाल पहिलो हुनु भएको हो । ५२ किलोमिटर म्याराथन हिमालले ५ घण्टा ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दा दोस्रो हुनु भएका करमानले ६ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्नुभएको थियो । ६ घण्टा २२ मिनेट ४३ सेकेण्डमा दुरी पार गरेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का अर्जुन बस्नेत तेस्रो बन्नुभयो भने त्यसपछि पनि सानीभेरी गाउँपालिका ३ कै भुवन ओली सान्त्वना हुनुभयो ।
महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम, भूमे गाउ“पालिका–४, की रुजिना बुढा मगर दोस्रो र ३ नम्बर वडा दोमैकी निर्मला पुन तेस्रो हुनुभयो । भूमे गाउँपालिका ६, कि शान्ति रोका मगर सान्त्वना हुनुभयो । हुमीले ८ घण्टा ३२ मिनेट ४७ सेकेण्ड, रुजिनाले ८ घण्टा ३७ मिनेट सेकेण्डमा ५२ किलोमिटर दुरी पार गर्दा निर्मलाले ८ घण्टा ४० मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । महिलातर्फ २१ जनाले सहभागिता जनाएका थिए ।
भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रले प्रतियोगिता गरेको हो । भूमे गाउँपालिका–६, को महतबाट महतमै आउने गरी म्याराथन गराइएको थियो । महिला पुरुष दुवै तर्फका प्रथमले ७५, दोस्रोले, ५० तेस्रोले ३० र सान्त्वनाले १५ हजार नगद प्राप्त गरेका छन् । दुवै तर्फ दशौं स्थानसम्म आएकालाई प्रमाण पत्र तथा मेडल दिइएको छ । खेल क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनका लागि म्याराथन आयोजना गरेको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिनुभयो ।