Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि ४ मा काेराेना संक्रमित बढे, संक्रमितकाे स्वास्थ्य जाँच गर्न घर घरमै डाक्टर
संक्रमितलाई औषधि दिदै डाक्टर छविलाल नेपाली ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्ला केहि दिनमा वडामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार २१ गते ८४ जनामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघिका ४ जना सहित अहिले वडामा ३२ जना सक्रिय संक्रमितहरु रहेका छन् । वडामा कोरोना भाइरसको संक्रमण बढेको र संक्रिय संक्रमितको संख्या धेरै रहेपछि डाक्टर सहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच र औषधि वितरण गरेको छ ।

गाउँपालिका अस्पतालका डाक्टर छविलाल नेपाली, अहेव कुमार घर्ती, अनमि प्रमा ओलीले संक्रमितको घर घरमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरण सहित परामर्श गरेको गाउँपालिका स्वास्थ्य सह संयोजक बिरबहादुर डाँगीले जानकारी दिनुभयो । संक्रमितको संख्या एकै पटक ह्वात्तै बढेपछि संक्रमितको अवस्था बारे जानकारी लिन र उनिहरुलाई औषधि तथा परामर्श दिन डाक्टर सहितको टोली खुम्चेरीका टोल टोल तथा घर घरमा पुगेको उहाँले बताउनुभयो ।

उक्त टोलीले ३२ जना कोरोना संक्रमितको स्वास्थ्य जाँच र औषधि वितरण गरेको छ । त्यस्तै संक्रमित भएको अवस्थामा के के कुरामा ख्याल राख्ने, कस्तो भयो भने स्वास्थ्य संस्थासम्म पुग्ने, परिवारका अन्य सदस्यलाई संक्रमण हुन नदिनका लागि के गर्ने र परिवारका सदस्यहरुले पनि संक्रमितको स्याहार कसरी गर्ने, मनोबल कसरी बढाउने भन्ने लगायतका बारेमा डाक्टर सहितको टोलीले परामर्श गरेको स्वास्थ्य सह संयोजक डाँगीले बताउनुभयो ।

उक्त सबै संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् । यसअघि वडा नम्बर ९ मा संक्रमित ह्वात्तै बढेपछि जिल्ला अस्पतालका डाक्टर राजकुमार भुजेल सहितको स्वास्थ्यकर्मीको टोलीले घर घरै पुगेर कोरोना संक्रमितको जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श गरेको थियो । अहिले त्यहाँ संक्रमण नियन्त्रणमा आईसकेको छ । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update