नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएल चौरजहारी नगर समितिले कार्यालय स्थापना गरेको छ । चौरजहारी नगरपालिका २, मा वाइसीएलले नगर कार्यालय सञ्चालनमा ल्याएको छ । संगठनका गतिविधि सञ्चालनमा सहजता आउने, भेला, बैठक तथा अरु कामकाजमा सजिलो बनाउन कार्यालय बनाइएको वाइसीएल चौरजहारी नगर समितिले जनाएको छ ।
जिल्ला संयोजक जनककुमार विश्वकर्मा लगायत पार्टीका नेता कार्यकर्ताले संगठनको बोर्ड खोलेर कार्यालय उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटनसँगै बसेको वाइसीएल चौरजहारी नगर समितिको बैठक पनि बसेको छ । बैठकले संगठनका विभिन्न कामकाजलाई व्यवस्थित गर्ने, जिल्लाबाट प्राप्त निर्देशन र सर्कुलर अनुसार संगठनलाई क्रियाशिल राख्ने निर्णय गरेको नगर संयोजक एलबी कटुवालले बताउनुभयो ।
पार्टीसँगको सहकार्य, पार्टीको निर्देशन अनुसार पार्टी र संगठनका कामकाजलाई चुस्तदुरुस्त राख्ने निर्णय भएको कटुवालले जानकारी दिनुभयो । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सघाउने, विपदका बेला उदार, राहत र पुनस्थापनामा पनि युवालाई अग्रमोर्चामा खटाउने निर्णय भएको संयोजक कटुवालले बताउनुभयो ।