Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रशासन कार्यालयको सेवा लिन अब बार पर्खनुपर्दैन

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट प्रवाह भइरहेको सेवा लिन अब बार कुर्नु नपर्ने भएको छ । यस अघि जिल्ला प्रशासन कार्यालयले स्थानीय तह तोकेर सोही अनुसार सेवा प्रवाह गरिरहेको थियो । मंसिर २८ गते आइतबारदेखि प्रशासनले नियमित सेवा प्रवाह गर्ने जनाएको छ । यस अघि कोरोना संक्रमण फैलन नदिन तथा रोकथाम, नियन्त्रणका लागि भन्दै प्रशासनले स्थानीय तहलाई बार तोकेर सेवा प्रवाह गरिरहेको थियो ।

मंसिर १० गतेदेखि जिल्ला प्रशासनले शुक्रबारसम्म जिल्लाका ६ स्थानीय तहलाई छुट्टा छुट्टै बार तोकेर सेवा दिइरहेको थियो । आइतबार र सोमबार आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका सेवाग्राहिले मात्र सेवा लिएका थिए । यसैगरी मंगलबार र बुधबार चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, विहीबार र शुक्रबार मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका सेवाग्राहिलाई मात्रै सेवा दिइएको थियो । नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नावालिग परिचयपत्र, राहादानी लगायतका नियमित सेवा बार अनुसार नै प्रवाह भइरहेको थियो ।

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामका लागि सवारी पास, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवा भने कार्यालयले नियमित दिइरहेको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना निकालेर यस अघि दिइँदै आएको बार अनुसारको सेवा हटाई अब नियमित सेवा प्रवाह हुने उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update