Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अब नियिमत आँखा अप्रेशन  हुने

रुकुम पश्चिममा आँखा अप्रेशन सेवाको लागि आवश्यक उपकरण आएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको आँखा उपचार केन्द्रमा आँखा शल्यक्रिया तथा अप्रेशनको लागि आवश्यक उपकरण ल्याइएको हो । आँखा उपचार केन्द्रको स्तरोन्नती गरी जिल्लामै आँखा अस्पताल तथा सर्जिकल सेन्टरको रुपमा विकास गर्न उपकरण खरिद गरी जिल्लामा ल्यार्ईएको हो ।

अस्पताल तथा सजिर्कल सेन्टर स्थापनाका लागि आवश्यक अप्रेटिङ माईक्रोस्कोप र मोतिया विन्दुको अप्रेशनमा अवश्यक सामग्री आँखा उपचार केन्द्र सल्लेमा आपुगेको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । दश वर्षदेखि प्राथामिक उपचार सेवा दिँदै आएको उक्त केन्द्रमा अब आखा अप्रेशन हुने केन्द्र प्रमुख केसीले बताउनुभयो । अस्पताल तथा सर्जिकल सेन्टरमा विकास गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य सेवा कार्यालय मार्फत १० लाख, मुसीकोट नगरपालिको ५ लाख र आन्तरिक स्रोतबाट ५ लाख गरी २० लाखमध्यबाट १७ लाखको उपकरण आएको र अन्य तीन लाखमा आवश्यक थप सामग्री खरिद गरिने प्रमुख केसीले जानकारी दिनुभयो । 

सेन्टरको लागि आवश्यक सामग्री छिट्टै जडान गरी असार मसान्त सम्ममा आँखाको शल्यक्रिया सुरु गर्ने भनिएको भए पनि कोरोनाको कारण उपकरण जडानमा भने समय लाग्ने भएको छ । सामग्री पुगिसकेको तर जडान भने एक महिना पछि मात्रै हुने छ । अहिले आँखा उपचार केन्द्रबाट आँखा र कानको प्राथामिक उपचार सेवा दिइँदै आएकोमा कोरोनाको जोखिम कम हुदै गएमा भदौ पहिलो साता देखि अप्रेशन सेवा सुरु हुने छ । उपकरण जडान पछि जिल्लामा मोतिया विन्दुका बिरामीको अवस्था हेरेर महिनाको एक पटक अप्रेशन सेवा दिइने प्रमुख केसीले बताउनुभयो । जिल्लामै सर्जिकल सेन्टरको स्थापना भए आँखा अप्रेशनको लागि दाङ, नेपालगञ्ज, काठमाण्डौ लगायत ठाउँ जानु पर्ने बाध्यता हट्ने छ ।
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update