Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटका सय विद्यार्थीलाई छात्रवृत्ति
आमा-बुवा स्मृति प्रतिष्ठान, छात्रवृत्ति अक्षय कोषको खातासञ्चालनका लागि चेक हस्तान्तरण कार्यक्रम । फाइल फोटो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका झण्डै एक सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । विभिन्न व्यक्तिकाे व्यक्तिगत पहल र लगानीमा स्थापना गरिएको कोषबाट छात्रवृत्ति प्रदान गरिने भएको हो । आमा–बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषबाट गरीब, विपन्न, जेहेन्दार, सहिद परिवार, अपांग, टुहुरा लगायत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी भएको छ । उक्त कोषमा हालसम्म झण्डै ३०  लाख रकम जम्मा भएको छ । त्यसैको ब्याजबाट छात्रवृत्रि प्रदान गर्न लागिएको हो । 

कोषको बैठकले असार २९ गते वीरेन्द्र माध्यामिक विद्यालयमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिकाका सबै विद्यालयका एक सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी तयारी गरिएको अध्यक्ष केसीले बताउनुभयो । हाल विद्यालयबाट छात्रवृत्ति पाउने विद्यार्थीको सिफारिस आउने क्रम जारी रहेको छ । 

२७ गते सम्म विद्यार्थीको नाम सिफारिस गर्ने गरी विद्यालयहरुलाई अनुरोध गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । सबै विद्यार्थीलाई एक वर्ष सम्म पुग्ने कपी, कलम एक/एक वटा झोला, ६ देखि १० कक्षा सम्मका विद्यार्थीलाई जोमेट्रि बक्स र १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई टिफिन बक्स पनि दिइने छ । कपी र कलम एक वर्ष अगावै सकिएको जानकारी पाइएमा त्यसलाई थप कपी, कलम थप्ने गरी कोषले निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update