नेपाली कांग्रेसले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको नवाैं नगर सभाकाे दाेस्राे बैठक बहिष्कार गरेको छ । नीति, कार्यक्रम पास गरेकाे कांग्रेसले बजेट पास गर्न डाकिएकाे नवाैं नगरसभाकाे दाेस्राे बैठक बहिष्कार गरेकाे हाे । बजेट र नगरपालिकाको केन्द्रका विषयमा विरोध जनाउँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आजकाे नगरसभाको दोस्रो बैठक बहिष्कार गरेका हुन् । एकलौटी रुपमा बजेट ल्याएको, वडाको सिलिङलाई वेवास्ता गरेको र नगरपालिकाको केन्द्र वडा नं. ५ को शेरिगाउँमा प्रस्ताव गरिएपछि त्यसको विरोधमा आफुहरुले नगरसभा बहिष्कार गरेको मुसीकोट नगरपालिका वडा नं. १ का अध्यक्ष बिरवल केसीले जानकारी दिनुभयो ।
नगरसभामा कांग्रेसका २४ जना सदस्य रहेका छन् । उनिहरु कोही पनि आजको नगरसभामा उपस्थित छैनन् । संघीयता पूर्व र संघीयतापछि पनि मुसीकोट नगरपालिकाको केन्द्र वडा नं. १ को खलंगामा तोकिएको अवस्थामा हाल भने बिना कुनै छलफल नगरको केन्द्र वडा नं. ५ मा तोक्न खोजिएको भन्दै कांग्रेसले यसको विरोध गरिरहेको छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको विरोधका बाबजुत पनि नगरसभाको बहुमत सदस्य संख्यामा आगामी आर्थिक वर्षका लागि नगरसभामा पेश गरिएको बजेट पास गरेको छ । त्यस्तै नगरसभामा वडा नम्बर ४ का वडा सदस्य जगत खड्काले दिएको राजिनामा बारे जानकारी समेत गराईएको छ । नगर सभा अहिले वडा नं. ५ को शेरिगाउस्थित सहिद प्रतिष्ठानको सभाहलमा चलिरहेको छ ।
नीति, कार्यक्रम भने असार १० गते नै सर्वसम्मत रूपमा पास भएकाे थियाे ।