रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ को पोखरी लेकमा खानेपानी पुगेको छ । लिफ्ट प्रविधि मार्फत पहिलो पटक गाउँमा खानेपानी पुगेको हो । गाउँभन्दा मुनि रहेको ठुला खोलाबाट लिफ्ट गरेर पानी गाउँमा पुर्याईएको हो । स्थानीयले लामो दुरी पैदल हिडेर खानेपानीको जोहो गर्ने गरेका थिए । मेलचौर खानेपानी आयोजना मार्फत पानी तानेर गाउँमा पुर्याईएको गाउँपालिकाले जनाएको छ । मुहानबाट ४ सय ४० मिटर भर्टिकल र ३ सय ६० मिटर होरिजेन्टल उचाईमा खानेपानी तानिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह बिष्टले जानकारी दिनुभयो ।
कुल ४० लाख लागतमा सौर्य सोलार लिफ्ट प्रविधि मार्फत खानेपानी पोखरीमा तानिएको उहाँको भनाई छ । दुई वटा शिर्षकमा कर्णाली प्रदेश सरकारबाट आएको बजेटबाट यो आयोजना अन्तिम चरणमा पुगेको छ । २० लाख विशेष अनुदान मार्फत आएको हो भने २० लाख मुन्यमन्त्री रोजगार कार्यक्रम मार्फत आएको हो । गाउँमा पानी तानेर परीक्षण गरिएको र उक्त परीक्षण सफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताउनुभयो । अव ट्यांकी निर्माण सहितका केही काम मात्र बाँकी रहेको उहाँको भनाई छ । एक घर एक धाराको अवधारणा अनुसार यो आयोजना संचालनमा ल्याईएको गाउँपालिका अध्यक्ष नरवहादुर पुनले बताउनुभयो ।
यो वर्ष गाउँसम्म पानी तानिएको र घर घरमा धारा विस्तारको काम भने अर्को वर्ष हुने उहाँले बताउनुभयो । ‘मुहानबाट पानी तानेर लेकमा लगिएको छ, यो वर्ष ट्यांकी बनाएर टोल टोलमा पानी वितरण हुन्छ, उहाँले भन्नुभयो–अर्को वर्ष घर घरमा धारा बाँढिन्छ ।’ खानेपानीको समस्या भोगिरहेका त्यहाँका स्थानीय अव भने खानेपानीको समस्याबाट मुक्त हुने छन् । यो आयोजनाबाट पोखरी र आसपासका करिब २ सय परिवार लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।