सम्झौता अनुसार काम भएको यति बेला सदरमुकाम खलंगा बजारको मुख्य सडकको स्वरुप नै अर्कै हुन्थ्यो । हिउँदमा धुलो र वर्षामा हिलोको मारमा सर्वसाधारण पर्नुपर्ने थिएन । २०७६ कै असोज महिनामा बजारको सडक चिल्ला भइसक्थे । तर ठेकेदार कम्पनी र सम्बन्धित आयोजनाकै लापरबाहीका कारण बन्दै गरेको सडक अलपत्र छ ।
सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । बालबालिकादेखि जेष्ठ नागरिकलाई ओहोरदोहोरमा समस्या छ । तर काम भने लामो समयदेखि ठप्प छ । वर्षातमा केही समय काम गरेको ठेकेदार कम्पनीले त्यसपछि भने काम गरिरहेको छैन । सडकमा राखिएका ढुंगाको कारण सडक, सडक नभइ असजिलो बनाउन राखिएको ठाउँ जस्तो छ । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–१, स्थित जिल्लाको मुख्य बजारको मुख्य सडकको स्तरोन्नती गर्नुपर्ने थियो ।
कालिका मन्दिरदेखि बह्राटाकुरा सम्मको झण्डै एक किलो मिटर सडकको स्तरोन्नती गर्न लागिएको हो । तर यो कामले गति त लिएको छैन । भइरहेको काम अलपत्र छाड्दा अर्को असजिलो बजारमा छ । सघन सहरी विकास कार्यक्रम अन्तर्गत खलंगा बजारको मुख्य सडकमा पार्किङ टायल विछ्याएर स्तरोन्नती गरिने छ । १ किलोमिटर सडक स्तरोन्नतीका लागि भ्याट सहित २ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । कोशी न्यौपाने जेभीले सडक स्तरोन्नतीको जिम्मा लिएको छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत संघीय कार्यान्वयन इकाई सुर्खेत मार्फत निर्माण कम्पनीले सडक स्तरोन्नतीको काम थालेको हो । सम्झौतामा स्तरोन्नती गर्दा ५ मिटर सडक बनाउनुपर्ने उल्लेख छ । मुख्य सडक स्तरोन्नती हुने भएपछि खुसी भएका सर्वसाधारण चिन्तित बनेका छन् । भइरहेको काम समेत रोकिएपछि थप समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले बताउनुभयो । सडक निर्माण होला र सबैलाई सजिलो होला भन्ने आशा गरिएपनि आशा निराशामा परिनत भएको अध्यक्ष खड्काले बताउनुभयो ।
ठेकेदार कम्पनी र सम्बन्धित आयोजना दुवैको कमजोरीले सर्वसाधारणले दुःख पाउनुपर्ने अवस्था आएको भनाई बजारबासीको छ । ठेकेदार कम्पनीले आयोजना कार्यालयले डिजाइन चेन्ज गर्न ढिलाई गर्दा निर्माणको काममा ढिलाई भएको बताएको छ । यस अघि डिजाइनमा पार्किङ टायल लगाउने थियो । पछि मुसीकोट नगरपालिका १ नम्बर वडाले टायल नलगायर ढलान गर्नुभनेपछि ढलान गर्ने निर्णय स्वीकृत नभएकाले समस्या भइरहेको ठेकेदार कम्पनीले बताएको छ ।