रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको केन्द्र वडा नम्बर ५ को शेरिगाउँमा तोक्ने प्रस्ताव नगर सभाबाट दुई तिहाइ बहुमतले पारित भएको छ । आजको नवौं नगरसभाको दोस्रो बैठकमा नगरपालिकाको केन्द्र शेरिगाउँमा तोक्ने प्रस्तावमा मतदान भएको थियो । कुल ७२ सदस्यीय नगरसभाका ४८ सदस्यले प्रस्तावमा मतदान गरेका छन् । यो कुल संख्याको दुई तिहाइ हो । प्रस्तावको विपक्षमा कुनैपनि मत परेन् । नेपाली कांग्रेसबाट निर्वाचित २४ जना नगरसभा सदस्य भने सभामा उपस्थित भएका थिएनन् ।
उनिहरुले नगरसभा बहिष्कार गरेका हुन् । कांग्रेसले नगरसभा बहिष्कार गरेपनि दुई तिहाइ बहुमतले नगरपालिकाको केन्द्र वडा नम्बर १ खलंगाबाट वडा नम्बर ५ को शेरिगाउँमा तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । अव यसलाई प्रदेश हुँदै संघीय सरकारमा पठाउने नगरपालिकाले जनाएको छ । नगर तथा गाउँपालिकाको केन्द्र ६ महिना भित्र सामान्य बहुमतले तोक्न सक्ने र त्यो भन्दा ढिलो भएमा दुई तिहाइ आवश्यक पर्ने कानुनी व्यवस्था छ ।
नगरसभाबाट आवश्यक दुई तिहाइ बहुमतले पारित गरेको प्रस्तावलाई अव प्रदेश हुँदै संघीय सरकारले मान्यता दिनुपर्छ ।