रुकुम पश्चिममा पुनः निषेधाज्ञा थप गरिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समयसीमा भोली अर्थात असार २५ गते राती १२ बजे सकिनै लाग्दा आज जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई साउन १ गतेसम्मका लागि थप गरेको हो ।जिल्लामा निषेधाज्ञालाई खुकुलो पारिएको छ । अव भने सार्वजनिक सवारी साधन पनि संचालन हुन पाउँने भएका छन् । यसअघि निजी सवारी साधन मात्र संचालन हुन पाईरहेकामा अव भने जिल्लाभित्र सार्वजनिक सवारी साधनहरु संचालन हुन पाउँने छन् ।
तर जिल्ला बाहिर जाने र जिल्ला बाहिरका सवारी साधन जिल्ला भित्र भने आउन पाउँने छैनन् । जिल्ला भित्र सवारी चलाउदा स्वीकृत सीट क्षमता अनुसार तोकिएका मापदण्ड पुरा गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सार्वजनिक सवारी संचालन गर्न पाईने छ । मास्कको प्रयोग, चालक र सह चालकले मास्क, पञ्जा र भाइजर अनिवार्य प्रयोग गर्ने, मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश निषेध गर्ने र सवारी साधनलाई दैनिक निसंक्रमण गर्नुपर्ने प्रजिअ गैह्रेले बताउनुभयो ।
सार्वजनिक सवारी साधन संचालन गर्न दिने र अन्य निश्चित व्यवशायहरु पनि निश्चित समयका लागि संचालनमा आएको अवस्थामा हिडडुलमा भने निषेध गरिएको छ । त्यस्तै अव होटल व्यवशाय पनि संचालन हुन पाउँने छन् । होटल, खाजाघर, चिया पसल सहित व्यटीपार्लर, शैलुन पनि संचालन हुन पाउँने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अव जिल्ला बाहिरका लागि सार्वजनिक तथा नीजि सवारी र विद्यालय तथा शैक्षिक संस्थाहरु मात्र खुल्न बाँकी रहेको छ । अन्य सेवामा निश्चित समय र शर्तहरु तोकिएपनि लगभग जिल्लामा अव अधिकांश क्षेत्रहरु खुलेका छन् ।