कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण लामो समय देखि बन्द जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सेवा आईतबार देखि सचारु हुने भएको छ । प्रशासनले आईतबार देखि बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका नियमित सेवा प्रवाह हुन नसकेको अवस्थामा अव आईतबार देखि भने नियमित सेवा प्रवाह सुरु हुने जानकारी गराएको छ । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी सिफारिस, अन्य विभिन्न सिफारिस तथा प्रमाणित, संघसंस्था दर्ता, नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ताको सेवा प्रवाह गरिने प्रशासनले जनाएको छ ।
आईतबार आठबीसकोट नगरपालिका, सोमबार चौरजहारी नगरपालिका, मंगलबार सानीभेरी गाउँपालिका, बुधबार त्रिवेणि गाउँपालिका, बिहिबार मुसीकोट नगरपालिका र शुक्रबार बाँफिकोट गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिईने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ ।
शान्ती सुरक्षा, विपद् राहत, मुद्दा, उजुरी तथा गुनासो व्यवथापन भने सबै दिनमा हुने बताईएको छ । त्यस्तै सेवा लिनका लागि मास्क प्रयोग गर्ने, साबुनपानी र सेनिटाइजरले हात धुनुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने लगायतका स्वास्थ्य मापदण्डहरु भने कडाईका साथ पालना गर्नुपर्ने छ ।