रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पास भएको छ । असार ८ गते गाउँ सभामा पेश भएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आजको गाउँसभाको दोस्रो बैठकले पास गरेको हो ।
गाउँसभामा पेश भएको बजेट आवश्यक परिमार्जन सहित सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षका लागि ५३ करोड २५ लाख बजेट पेश गरिएको थियो । उक्त बजेटलाई गाउँसभाको दोस्रो बैठकले पारित गरेको हो ।
आगामी वर्षका लागि पारित भएको बजेट मध्य संघीय सरकार अन्तरसरकारी वित्तिय हस्तान्त्ररण सामानीकरण मार्फत ९ करोड ६१ लाख, संघीय सरकार राजश्व बाँडफाँड मार्फत ७ करोड ६२ लाख ३५ हजार, संघीय सरकारबाट शसर्त अनुदान मार्फत १९ करोड २६ लाख, संघीय सरकारबाट विशेष अनुदान मार्फत ८३ लाख, संघीय समपूरक अनुदान मार्फत १ करोड ५३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ करोड ६९ लाख ७ हजार बजेट प्राप्त हुने छ ।
मागको आधारमा सामाजिक सुरक्षा भत्ता अनुदान ४ करोड ६८ लाख २९ हजार, प्रदेश सरकारबाट सामानिकरण अनुदान ९७ लाख ६८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड अनुदान ४ लाख १६ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान ६० लाख र प्रदेश सरकार शसर्त अनुदान १ करोड ९६ लाख ४९ हजार रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको मौज्दात २ करोड, गाउँपालिकाको आन्तरिक स्रोत ७५ लाख र गाउँपालिका अस्पताल फार्मेशीबाट २० लाख आम्दानी हुने प्रक्षपण गर्दै गाउँपालिकाले बजेट निर्माण गरेको छ । गाउँपालिका उपाध्यक्ष इन्दीरा ओलीले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको थियो ।।