राप्ती साहित्य परिषद रुकुम पश्चिम १५ औं वर्षमा प्रवेश गरेको छ । २०३४ सालमा दाङमा स्थापना भएको साविकको साप्तीकै जेठो साहित्यिक संगठन राप्ती साहित्य परिषद्को रुकुममा २०६४ सालमा शाखा स्थापना भएको थियो । १५ औं वर्षमा प्रवेश गरेको अवसरमा परिषद्ले आज मुसीकोटमा वार्षिक समारोह आयोजना गरेको छ । मुसीकोट नगरपालिका वडा नं. ५ को शेरिगाउँस्थित यमुना नन्द नमुना माध्यमिक विद्यालयमा वार्षिक समारोह आयोजना गरिएको थियो ।
“भाषा, साहित्य, कला र संस्कृति, जीवन र जगतको समृद्धि” भन्ने नाराका साथ आयोजित १४ औं वार्षिक समारोहमा संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, रुकुम साहित्यमाला पुरस्कार, सुमना–सुमन साहित्यिक अक्षयकोष पुरस्कार वितरणका साथै राप्ती साहित्य माला कार्यक्रम सञ्चालनका लागि परिषद्लाई सहयोग गर्ने कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणि र त्रिवेणि मावि सिम्रुतुलाई सम्मान पनि गरिएको थियो ।
वार्षिक समारोहमा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का अध्यक्ष मनलाल ओलीले जिल्लाको साहित्य विकासका लागि कुनै पनि निकायबाट सहयोग हुन नसकेको बताउनुभयो । साहित्यिक विकासका लागि आफुहरु व्यक्तिगत रुपमा लागेको भएपनि कुनैपनि सरोकारवाला निकायले एक रुपैंया पनि सहयोग गर्न नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । उहाँले जिल्लाको साहित्यिक विकासका लागि स्थानीय सरकार सहित अन्य निकायहरुले आर्थिक सहित अन्य सहयोग गर्नुपर्ने बताउनुभयो ।
समारोहमा परिषद्का सचिव ओमवहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परिषद्को कुनै आर्थिक स्रोत नभएपनि विभिन्न व्यक्तिहरुको सहयोगमा गतिविधिहरुलाई अगाडि बढाईरहेको उहाँले बताउनुभयो । परिषद्को हालसम्मको आम्दानी १ लाख ५५ हजार ९ सय ७५ रुपैंया रहेको छ भने खर्च ३२ हजार ६ सय २७ रुपैंया रहेको छ । अव परिषद्मा २ वटा अक्षय कोष सहित १ लाख २३ हजार ३ सय २८ बचत रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
परिषद्मा रुकुम साहित्य माला अक्षय कोष र मुकुन्दप्रसाद शर्माले स्थापना गरेकाे सुमना–सुमन साहित्य अक्षय कोष रहेका छन् । उक्त दुई अक्षयकोषबाट दुई जनालाई पुरस्कृत गरिएको छ । रुकुम साहित्य माला पुरस्कारबाट राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा साहित्यकार नदिराम केसी र सुमना–सुमन साहित्य पुरस्कारबाट पत्रकार मनिष खड्का पुरस्कृत हुनुभएको छ ।
यसैविच परिषद्ले हरेक एक महिनामा संचालन गर्दै आएको रुकुम साहित्य मालाको ८५ औं अंक पनि वार्षिक समारोह संगै संचालन भएको छ । कार्यक्रममा १ दर्ज बढी सस्रष्टाहरुले विभिन्न रचनाहरु वाचन गरेका थिए ।