Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने राउण्डले सार्थकता पाउँदै, पाहुना घर, काठेपुल र बाटो बन्दै 
सिस्ने राउण्डमा विभिन्न संरचनाहरू निर्माण गरिदै ।

रुकुम पूर्व र रुकुम पश्चिमको पर्यटन विकासमा टेवा पुर्याउने उदे्श्यले पहिचान गरिएको सिस्ने राउण्डले सार्थकता पाउन थालेको छ । रुकुम पश्चिमको बाँफिकोटका पर्यटन अभियान्ता मनबहादुर खत्रीले मार्किङ गरेको सिस्ने राउण्डमा आवश्यक संरचनाहरु निर्माण हुन लागेका हुन् । 

अन्तराष्ट्रिय निकाय, स्थानीय सरकार र स्थानीयको संयुक्त लगानीमा यो राउण्डमा पर्ने विभिन्न खोलामा काठेपुल, पाहुना घर र बाटो निर्माण भइरहेको सिस्ने राउण्डका अन्वेषक खत्रीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सिस्ने राउण्ड अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ र रुकुम पश्चिमको आठबीसकाेट नगरपालिका वडा नम्बर ६ मा विभिन्न संरचना निर्माण हुँदै छन् । 

यि दुवै वडामा ३/३ वटा काठेपुल र बाटो निर्माण हुने छ भने सिस्ने गाउँपालिका वडा नम्बर १ को पुरमुलीमा एउटा पाहुना घर निर्माण हुँदै छ । त्यस्तै सिस्ने गाउँपालिका वडा नम्बर १ कै पुरमुली, निलाखोला र रातापहर खोलामा काठे पुल निर्माण हुन लागेको खत्रीले बताउनुभयो । गत वर्ष यो वडाका सानाभेरा र ठूलाभेरा खोलामा पुल निर्माण भएको उहाँको भनाई छ । 

त्यस्तै आठबीसकोट नगरपालिका वडा नम्बर ६ को खाराखोला, डाङडुगे खोला र घट्टेखोलामा पुल निर्माण हुन लागेको खत्रीले बताउनुभयो । गत वर्ष यो वडाका रिजागाड खोला र मल्लीखोलामा पुल निर्माण भएका थिए । पुल निर्माणका लागि प्रतिपुल ३ लाख र बाटोको लागि ३ लाख ६० हजार बजेट रहेको खत्रीले जानकारी दिनुभयो । 

पुल र बाटोको लागि सिस्ने १ र आठबीसकोट ६ मा समान १२ लाख ६० हजार बजेट खर्च हुँदै छ । यो बजेट युएनडिपी अन्तरर्गतको एस.टी.एल.आर.पी. कार्यक्रम अन्तरगत आएको हो । त्यस्तै सिस्ने १ को पुरमुलीमा बन्न लागेको पाहुना घरमा भने सिस्ने गाउँपालिकाको लगानी छ । सिस्ने राउण्डको खाका आफुले बनाएको र अव उक्त राउण्डले सार्थकता पाउन लागेको यो राउण्डका अन्वेषक खत्रीको भनाई छ । 

तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको थियो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् । रुकुम पश्चिमका विभिन्न पहाडबाट डोल्पा, जाजरकोट, दैलेख, बझाङसम्मका सेताम्य हिमालको दृश्यावलोकन गर्न सकिने छ ।

यो राउण्डमा भेटिने गाउँहरु
यो राउण्डको क्रममा धेरै रमाइला परम्परागत घर,गोठ भएका गाउँवस्ति भेटिन्छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट यात्रा सुरु गर्दा काँडा, आठबीसकोट नगरपालिकाको थुम,रोकाजा,पहाडा, ओख्ले, चैतीखारा, बारंगे रुकुम पूर्वका सिस्ने गाउँपालिकाको ठूलासिस्ने, लाम्पाखा, ओख्रेन, दमार, भट्टेचौर पर्छन् । आठबीसकोट नगरपालिकाबाट सुरु गर्ने हो भने मैडाँडा, कोट, दाँजे, खदी,गोतामकोट, चिल,होलीकाँडा, होलीगाउँ, दमाचौर यी गाउँ भेटिन्छन् । सिस्ने गाउँपालिकाबाट पद यात्रा थाल्ने पदयात्रीले पोखरा, तातोपानी, आमलाचौर, ढाँका, दादिङ, छिपखोला, किँदा, प्वाङ, चारगाउँ, भेटाउँछन् । पद यात्रा गर्ने यात्रीले यी कुनै पनि रुटबाट यात्रा गर्न सक्ने गरी रुट तय गर्न सक्छन् ।

1603287742Sisne_Round.jpg
सिस्ने राउण्मा भेटिने मनाेरम ठाउँहरू ।

सिस्ने राउण्डको सम्भावना
पद यात्रा गर्ने यात्रीका लागि सिस्ने राउण्ड महत्वपूर्ण राउण्ड हुने विश्वास अन्वेषकहरुको छ । यो राउण्डमा यात्रा गर्नेले धेरै दृश्यावलोकन गर्न पाउनेछन् । यसमा मुख्य गरी पद यात्रीहरु हिड्ने छन् भने यसको साथै जडिबुटी, जिवजन्तु, तालतलैया, हिमाल, धार्मिक क्षेत्र अवलोकन तथा अध्ययनको सम्भावना बढेको छ । नयाँ ठाउँको भ्रमणको साथै ति ठाउँका विशेषताहरुबारे पनि जानकारी लिने अवसर सिस्ने राउण्डमा प्राप्त हुने छ । सिस्ने राउण्डको पदमार्ग सञ्चालन भएपछि स्थानीय जनशक्ति परिचालन र त्यसबाट आयस्रोतको बलियो सम्भावना छ । संस्कृति आदानप्रदान र सिक्ने अवसर पनि हुने छ । व्यापार, व्यवसायमा बढोत्तरीको सम्भावना छ । राज्यले कर संकलनका लागि पनि यसलाई उपयोग गर्न सक्छ ।

फाेटाेः साैजन्य मनबहादुर खत्री 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update