रुकुम पश्चिममा निजी तथा आवासीय विद्यालयमा २५ करोड बढी लगानी भएको छ । भौतिक संरचना निर्माण लगायत सम्पूर्ण व्यवस्थापनमा निजी विद्यालयहरुको हालसम्मको लगानी जिल्ला भरमा २५ करोड १९ लाख रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन रुकुम पश्चिमले जनाएको छ ।
हाल २१ वटा विद्यालय प्याब्सनमा आवद्ध रहेका छन् । कुल विद्यालय संख्या २४ रहेपनि ३ विद्यालय प्याब्सनमा आवद्ध हुन बाँकी रहेको प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्याब्सनमा आवद्ध विद्यालय मध्येमा मावि तहका ६ वटा र आधारभूत तहका १५ वटा रहेका छन् ।
त्यस्तै निजी तथा आवासीय विद्यालयमा ६ हजार बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् । प्याब्सनको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार जिल्ला भरमा ६ हजार २ सय २१ जना विद्यार्थी निजी तथा आवासीय विद्यालयमा अध्यनरत रहेका छन् । यसका साथै ३ सय ४१ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।
निजी तथा आवासीय विद्यालयमा अध्यनरत ६ सय २९ जना विद्यार्थीहरुले हालसम्म छात्रवृत्ति समेत पाएको आज मुसिकोटमा भएको प्याब्सनको आठौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । प्याब्सनका जिल्ला अध्यक्ष शर्माका अनुसार जिल्लाका सबै स्थानीय तहमा निजी विद्यालयहरु संचालनमा छन् ।
सबैभन्दा बढी निजी विद्यालय भने जिल्ला सदरमुकाम मुसिकोटमा रहेको उहाँले बताउनुभयो ।