Kakhara सबैको खबर सम्पूर्ण खबर
कखरा समाचार प्रभावः बराहटाकुरामा पसेको ढल व्यवस्थापनको काम सुरु
ढल व्यवस्थापन काम हुँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको बराहटाकुरा टुँडिखेलमा पसेको खंलगा वजारको ढल व्यवस्थापनको लागि मुसिकोट नगरपालिका वडा नम्वर १ ले काम थालेको छ । नालाबाट ढल चुहिएर टुँडिखेलमा पसेको समाचार कखरा डट कमबाट प्रकाशित भएको थियो । समाचार आएपछि वडा कार्यालयले अस्थायी रुपमा ढल व्यवस्थापनको काम सुरु गरेको हो । 

यसअघि खलंगा बजारको बाटोलाई व्यवस्थित बनाउने क्रममा ढल निकास टुँडिखेलसम्म मात्र थियो । ढल मैदानमा पस्दा टुँडिखेल हिलाम्मे हुनुका साथै फोहर देखिएको थियो । अहिले वडा कार्यालयले अस्थायी रुपमा ढल निकासको काम गरिरहेको वडा अध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार देखि ढल व्यवस्थापनको काम भइरहेको छ । 

स्थायी व्यवस्थापनको लागि भने शहरी पूर्वाधार विकास कार्यालय सुर्खेतसंग कुरा भइरहेको उहाँले बताउनुभयो । कार्यालयले सकारात्मक कुरा गरेको र अव टुँडिखेलसम्म मात्र भएको ढल निकासलाई त्यो भन्दा तल रहेको खोलासम्म लिने गरि प्रयास भइरहेको वडा अध्यक्ष चन्दको भनाई छ । आईतबार कखरा डटकममा खलंगा बजारको ढलले कुरुप बराहटाकुरा टुँडिखेल भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update