Kakhara सबैको खबर सम्पूर्ण खबर
आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका दिपक साधारण तारेखमा रिहा 

आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० का दिपक खड्का साधारण तारेखमा रिहा भएका छन् । श्रीमती खिमकला ओलीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका दिपकलाई जिल्ला अदालतले पौष २९ गते साधारण तारेखमा रिहा गरेको हो । 

घटनाको अनुसन्धान सकेर मुद्दा अदालतमा बुझाएको र अदालतले दिपकलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । मुद्दाको फैसला भने भएको छैन् । १८ वर्षिया श्रीमती खिमकलाको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले १८ वर्षिय दिपकलाई पौष ९ गते पक्राउ गरेको थियो । 

श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भन्दै उनले गाउँलेलाई खवर गरेका थिए । श्रीमतीलाई झुण्डिएको देखेको र जीवितै हुनसक्ने भन्दै आफुले डोरीबाट निकालेको तर श्रीमतीको मृत्यु भइसकेको बयान उनले दिएका थिए । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । माइती पक्षले भने खिमकलाले आत्महत्या गरेको नभई उनको हत्या भएको दाबी गरिरहेका छन् । 

यसअघि पनि पटक पटक खिमकला माथि दिपकबाट कुटपिट भएको र मृत्यु हुनुभन्दा एक दिन अघि मात्र खिमकला निलडाम सहित माइत आएको माइती पक्षको भनाई छ । घटनास्थल हेर्दापनि हत्या भएको देखिने माइती पक्षको भनाई छ । दिपक र खिमकलाले गतवर्षको चैत्रमा मात्र प्रेम विवाह गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update