अठार मगरात क्षेत्रको महान पर्व भूमेको अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकाद्वारा आयोजित चौथो भूमे सांस्कृतिक महोत्सव सकिएको छ । ‘हाम्रो भूमे, हाम्रो पहिचानः स्थानीय भाषा कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ असार २ देखि ५ गतेसम्म भूमे गाउँपालिकाको केन्द्र खाबाङबगरमा चलेको थियो । चौथो भूमे सांस्कृतिक महोत्सवमा गाउँपालिकाले विभिन्न ८ विधाका पुराना नाच तथा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।
जसमा ५ दिन सम्म चलेको महोत्सवमा भूमे नाच प्रतियोगिता तर्फ भूमे-६ महत प्रथम भएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत जनक ओलीले बताउनुभयो । यसैगरी भूमे-२ काँक्री दोस्रो हुँदा भूमे-७ धर्मशाला तेस्रो र भूमे-३ क्याङ्सी सान्त्वना भएको ओलीले जानकारी दिनुभयो । भूमे नाचमा ९ समूहले प्रतिस्पर्धा गरेका थिए । पुरस्कार राशी प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजार सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैगरी नचारु नाचमा भूमे-३ क्याङ्सी प्रथम हुुँदा सोही वडाकै सिमा दोस्रो र भूमे-६ महत तेस्रो भएको ओलीले बताउनुभयो । यस प्रतियोगितामा जम्मा तीन समूहको मात्र प्रतिस्पर्धा गरेका थिए । पुरस्कार राशी प्रथमलाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई ३० हजार सहित कप, मेडल, प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
मयुर नाच तर्फ चार समूहको प्रतिस्पर्धा रहेकोमा रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबारा प्रथम हुँदा भूमे-२ खाबाङ बगर दोस्रो भएको छ । भूमे-८ कुचिबाङ तेस्रो र सोही वडाकै नाम्फू सान्त्वना भएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ ।
पैसेरु नाचमा ६ समूहको प्रतिस्पर्धा भएकोमा प्रथम भूमे-९ चुनबाङ प्रथम, भूमे-३ क्याङ्सी दोस्रो, भूमे-६ स्याला सुर्पा तेस्रो र सोही वडाकै नाखेरुञ्ची सान्त्वना भएको छ । फाँक नाचमा चार समूहको प्रतिस्पर्धा भएकोमा भूमे-१ लुकुम प्रथम, भूमे-३ क्याङ्सी दोस्रो, भूमे-६ महत तेस्रो र भूमे-२ खाबाङ सान्त्वना भएको छ ।
यसैगरी झोरेल्नी नाचमा दुई समूहको मात्र प्रतिस्पर्धा रहेकोमा भूमे-३ क्याङ्सी प्रथम र भूमे-६ महत दोस्रो भएको छ । सिङगारु नाच तर्फ तीन समूह बिच प्रतिस्पर्धा रहेकोमा सिस्ने-६ रुकुमकोट प्रथम, भूमे-३ झुम्लाबाङ दोस्रो र सिस्ने-५ रुमालबारा तेस्रो भएको छ । र लस्के गीतमा नौ समूह बिच प्रतिस्पर्धा भएकोमा भूमे-१ लुकुम महिला समूह प्रथम हुँदा भूमे-३ झुम्लाबाङ पुरुष समूह दोस्रो भएको छ भने भूमे-२ खाबाङ महिला समूह तेस्रो र भूमे-६ महत पुरुष समूह सान्त्वना भएको छ ।
पैसेरु, फाँक, झोरेल्नी, सिङगारु नाच र लस्के गीत प्रतियोगिताको पुरस्कार राशी प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहि तकप, मेडल, प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उत्कृष्ट कला प्रदर्शनी तर्फ भूमे-६ का हेमबहादुर बुढा र भूमे-५ का सिता बुढालाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट वाद्यबाजन तर्फ भूमे-३ का दलबिर नेपालीलाई पुरस्कृत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण गरिएको थियो ।