Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटको निर्देशनः १५ वटा बिजुलीका पोल हटाएर पुन: गाड्नु 
मापदण्ड विपरित गाडिएका पाेल ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले मापदण्ड विपरितका संरचनामा एक्सन लिएको छ । नगरपालिकामा निर्माण हुने विभिन्न संरचनामा नगरपालिकाले चासो बढाएको छ भने मापदण्ड विपरितका संरचना भत्काइरहेको छ । 

नगरपालिकाले वडा नम्बर ९ को राडीका क्याम्पस रोड, बगर र खारखारामा गाडिएका बिजुलीका पोल हटाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित बिजुलीका पोल गाडिएको पाइएपछि उक्त पोल हटाएर पुनः मापदण्ड अनुसार पोल गाड्न निर्देशन दिइएको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । 

७२ वटा पोल गाडिएकामा १५ वटा पोल मापदण्ड विपरित गाडिएको फेला परेको उहाँले बताउनुभयो । गाड्नुपर्ने जति नगाडेको, उपयुक्त ठाउँमा नगाडिएका पोललाई हटाउन भनिएको हो । सम्भावित जोखिम र कामको गुणस्तरीयतालाई ख्याल राख्दै तत्कालै निकालेर पुनः गाड्न भनेको नगर प्रमुख केसीले बताउनुभयो । 

यो काम चौरजहारी विल्डर्सले गरिरहेको थियो । निर्माण कम्पनीले समेत गल्ती स्वीकार गरेको बताउँदै नगर प्रमुख केसीले १, २ दिनमै मापदण्ड अनुसार काम हुनेमा विश्वास व्यक्त गर्नुभयो । मापदण्ड अनुसार नभएमा नगरपालिका आँफैले उक्त पोलहरु हटाउने नगर प्रमुख केसीले बताउनुभयो । 

नगरपालिकाले प्रभावकारी अनुगमनमा जोड दिएको जनाएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका योजनामा एक्सन लिइरहेको नगर प्रमुख केसीको भनाई छ । 

यसअघि नगरपालिकाले मापदण्ड विपरित भएको भन्दै राडी–दाँजे सडकको एक सय मिटर वाल, नाली लगायतका संरचनामा डोजर चलाएको थियो । त्यस्तै  बगर–रामघाट नहरको झण्डै २ सय मिटर भत्काइएको थियो । 

नगरपालिकाले नियमित रुपमा पनि अनुगमन गरिरहेको र जनगुनासो आएका ठाउँहरुमा विशेष प्राथमिकताका साथ अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update