Kakhara सबैको खबर सम्पूर्ण खबर
भुक्तानीको अन्तिम दिन आज, तर खानेपानीको बजेट अझै आइपुगेन 

चालु आर्थिक वर्ष २०७९/०८० को बजेट भुक्तानी हुने आज अन्तिम दिन । आज राती १२ बजे पछि बजेट भुक्तनीको सिष्टम बन्द हुँदै छ । जति पनि योजना संचालन भएका छन उक्त योजनाको भुक्तानी १२ बजेसम्म भइसक्नुपर्छ । आज भुक्तानी नभए भोलीबाट यो चालु वर्षको भुक्तानी हुने छैन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमले अहिले साढे ५ बजेसम्ममा १८ करोड बढी बजेट भुक्तानी गर्न बाँकी छ ।

काम सम्पन्न भई प्राविधिक मुल्यांकन भए अनुसार १९ करोड २ लाख ३७ हजार ५ सय १७ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको भन्दै उपभोक्ताहरुले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । कार्यालय प्रमुख तेजनारायण महतोले बजेट कुरेर बसिरहेको बताउनुभयो । मन्त्रालयबाट पैसा पठाउने निश्चित भएको उहाँको भनाई छ । तर अहिलेसम्म बजेटको अख्तियारी आइनसकेको उहाँले बताउनुभयो ।

‘बजेट आउने भनेर निश्चित भइसकेको तर अहिलेसम्म अख्तियारी आइसकेको छैन्, कतिबेला बजेट आउँछ भनेर कुरेर बसिरहेका छौं, उहाँले भन्नुभयो–बजटे आयो भने रातको १२ बजेसम्म भुक्तानी गरिसक्छौं ।’ यता उपभोक्ताहरु भने विचल्लीमा परेका छन् । योजना सम्पन्न गरेर भुक्तानी लिन सदरमुकाम आएका उपभोक्ताहरु अहिलेसम्म भुक्तानी नभएपछि भुक्तानी नलिई गाउँ जान नसकिने अवस्थामा आफुहरु रहेको बताएका छन् । निर्माण सामग्री लिएका व्यापारी देखि श्रमिकले बसिखान दिने अवस्था नरहेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।  


 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update