Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम उद्योग वाणिज्य संघ ८ वर्षपछि नविकरण 

रुकुम उद्योग वाणिज्य संघ ८ वर्षपछि नविकरण भएको छ । वर्षेनी जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्नेमा संघ २०७२ साल देखि नविकरण हुनसकेको थिएन् । रुकुम उद्योग वाणिज्य संघ वर्षौंसम्म नेतृत्व विहिन अवस्थामा थियो । ८ वर्षपछि नयाँ नेतृत्व पाएपछि उद्योग वाणिज्य संघ नविकरण भएको हो । 

व्यापारीहरुको छाता संगठन वर्षौंसम्म आर्थिक अनियमितताको किचलोमा फसेको थियो । नयाँ नेतृत्व आएसंगै देखिएका समस्यालाई हल गर्ने प्रयास गरेको र आवश्यक प्रक्रिया पुरा गरेर संघलाई नविकरण गरेको रुकुम उद्योग वाणिज्य संघका महासचिव अनिल बुढाले बताउनुभयो । 

आन्तरिक समस्या, कोभिड संक्रमण लगायतका कारण संघ वर्षौंसम्म नविकरण हुन नसकेको अवस्थामा संघमा आफुहरु निर्वाचित भइसकेपछि संघलाई चलायमान र व्यापारीको हक हितका लागि काम गर्न सुरु गरेको उहाँको भनाई छ । अडिट तथा अन्य आवश्यक प्रक्रिया पुरा गरेर ८ वर्षको शुल्क एकैपटक तिरेर संघलाई नविकरण गरिएको बुढाले बताउनुभयो । 

८ वर्षको १६ हजार २ सय ५० रुपैयाँ तिरेर नविकरण गरिएको बताइएको छ । संघमा वर्षौंसम्म अडिट समेत हुन सकेको थिएन् । यो संगै रुकुम उद्योग वाणिज्य संघ बैधानिक संस्था भएको छ । संघ नविकरण भएसंगै काम गर्न सहज हुनुका साथै संघप्रतिको व्यापारी व्यवसायीको अविश्वास हट्ने अपेक्षा गरिएको छ । 

गत जेठ ८ गते वसेको १४ औं साधारण सभा तथा १२ औं अधिवेशन पछिको पहिलो बैठकले पलबहादुर खड्काको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ नेतृत्व आएपछि संघ चलायमान देखिएको छ । संस्था नै वैध नभएको अवस्थामा सुरुमा वैध बनाउने अभियानमा लागेको र अव ब्यापारीका हक हितमा केन्द्रीत हुने अध्यक्ष खड्काले बताउनुभयो । संघलाई चलायमान र सशक्त संस्थाको रुपमा विकास गर्ने गरी आफ्नो टिम लागिपरेको उहाँको भनाई छ ।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update