रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका कर्मचारीहरुले इन्जिनियर रेशम लम्सालमाथि हातपात भएको घटनामा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी न्यायिक निरुपण नहुँदासम्म गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा रोकेका छन् । कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नभएको भन्दै कर्मचारीहरुले सबै सेवा रोकेका हुन् ।
एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले कार्यालय आउँदै गर्दा इन्जिनियर लम्सालमाथि आज बिहान सानीभेरी गाउँपालिका वडा नम्बर ३ का गोविन्द ओलीले सिम्ली बजारमा हातपात गरेको घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्राविधिक मुल्याङकनमा नापजाँच गर्दा नियम विपरित नगरेको कामको मुल्याङकन गर्न दबाव दिने, लागत अनुमान बेगरको मुल्याङकन उठाउन दबाब दिने, नउठाए जे पनि हुन सक्ने भनी धम्की दिने जोसुकै भएपनि कानुनी कठघरामा उभिनुपर्दछ । यस्ता अपराध क्षम्य हुन सक्दैनन र हुन पनि हुदैन विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै विज्ञप्तीमा अपराधिक नियतले एक राष्ट्रसेवक इन्जिनियरमाथि आफ्नो कर्तव्य पालनाको शिलशिलतामा बिच बाटोमै कानून समेत आफ्नो हातमा लिइ भएको कुकर्म प्रति हामी स्तब्ध छौं भनिएको छ । यस्ता कार्यले विस्तारै स्थानीय तहमा कर्मचारी बस्नै नसक्ने वातावरण सिर्जना हुदै गएको कर्मचारीहरुले बताएका छन् ।
कर्मचारीहरले स्थानीय तहमा कार्यरत कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभुति हुनपर्ने र दोषीमाथि कडा भन्दा कडा कारवाही हुनपर्ने माग गरेका छन् ।
ओलीले भने यो घटनामा योजना मुल्यांकनको कुनै साइनो नभएको बताउनुभएको छ । सिम्लीमा निर्माण भइरहेको कवर्डहलका विषयमा इन्जिनियर लम्सालले आफुले नभनेको कुरा कवर्डहल निर्माण समितिमा हाल्दिदा विवाद सृजना भएको बताउनुभयो । आफुले नभनेको कुरा भनेर इन्जिनियर लम्सालले आफु र कवर्डहल निर्माण समितिका विचमा विवाद सृजना गर्न खोजेपछि आफुले त्यसो नभएको निर्माण समितिलाई बुझाइरहेका बेला इन्जिनियर लम्साल पनि सोही ठाउँमा आएपछि माहोल उग्रह बनेको ओलीको भनाई छ ।