Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको आगामी वर्षको बजेट सर्वसम्मत पास 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास भएको छ । १२ औं नगरसभाको दोस्रो बैठकले शुक्रबार सर्वसम्मत रुपमा झण्डै ७५ करोड बराबरको बजेट परिमार्जन सहित पास गरेको हो । नगर उपप्रमुख विमलकुमार पुनले १२ औं नगर सभाको पहिलो बैठकमा असार १० गते ७४ करोड ८६ लाख २७ हजार ५ सय २५ रुपैयाँको बजेट पेश गर्नुभएको थियो ।

उक्त बेला डल्लो बजेट पेश भएकामा शुक्रबार ब्रेक डाउन सहित पुनः नगर उपप्रमुख बिमलकुमार पुनले बजेट पेश गर्नुभएको थियो । उक्त बजेट बैठकले सर्वसम्मत रुपमा पास गरेको बताइएको छ । कुल बजेटमध्ये चालु तर्फ ५७ करोड १० लाख २७ हजार ५ सय २५ रुपैयाँ छ । यो कुल बजेटको ७६.२७  प्रतिशत हो । पुँजीगत तर्फ भने २३.७३ प्रतिशत मात्र रहेको छ । यो भनेको १७ करोड ७६ लाख हो ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमा संघीय वित्तीय समानीकरण अनुदान १ करोड ५१ लाख, सशर्त अनुदान ३५ करोड ९५ लाख, राजस्व बाँडफाड १० करोड ५० लाख ८४ हजार, विशेष अनुदान ८० लाख र संघीय समपूरक अनुदान ७५ लाख रहेको छ । त्यस्तै कर्णाली प्रदेश समानीकरण अनुदान १ करोड ३३ लाख ४७ हजार, सशर्त अनुदान ६ करोड १९ लाख ६२ हजार, राजस्व बाँडफाड ११ लाख ३४ हजार ५ सय २५ रुपैयाँ, विशेष अनुदान ९० लाख र समपूरक अनुदान १ करोड ५० लाख आउने अनुमान गरिएको छ ।

त्यस्तै नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ३० लाख प्राप्त हुने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको मौज्दात रकम २ करोड पनि आगामी बर्षमा खर्च गर्ने गरी बजेट ल्याएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update