रुकुम पश्चिममै पहिलो पटक चौरजहारीमा ब्लड बैंक संचालनमा आएको छ । जिल्लामा रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रगतको सहज व्यवस्थापनका लागि चौरजहारी नगरपालिका वडा नम्बर १ मा अवस्थित चौरजहारी अस्पताल नजिकै ब्लड बैंक आज देखि संचालनमा आएको हो ।
आज एक औपचारिक कार्यक्रमका विच चौरजहारी नगरपालिकाका प्रमुख पष्प वादीले ब्लड बैंकको उद्घाटन गर्नुभयो । यसअघि नै तयारी पुरा भएकामा आज देखि औपचारिक रुपमा बैंक संचालनमा आएको रेडक्रस चौरजहारीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा ब्लड बैंक संचालनमा आएको हो ।
चौरजहारीमा २ वर्ष अघि देखि नै ब्लड बैंक स्थापनाको तयारी थालिएको थियो । तर विचमा अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माणको योजनाले हाल आएर सार्थकता पाएको रेडक्रस चौरहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लड बैंकका लागि भवन निर्माण तथा उपकरण व्यवस्थापन लगायतका सबै काम पुरा भएपछि आज देखि संचालनमा आएको हो ।
ब्लड बैंकका लागि हालसम्म ४० लाख बजेट खर्च भएको लामिछानेले बताउनुभयो । भवन निर्माणमा २८ लाख खर्च भएको छ भने बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँको भनाई छ । कुल बजेटमा १ लाख १५ हजार बराबरको जनसहभागिता रहेको छ भने बाँकी सबै रकम चौरजहारी नगरपालिकाको हो ।
भवन निर्माण सहित वेड, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, घेरबार लगायतका काम भएका छन् । चौरजहारीमा ब्लड बैंक स्थापना भएपछि अव चौरहजारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा आवश्यक पर्ने रगतको माग पुर्ति हुने विश्वास गरिएको छ । अहिलेसम्म बिरामीका आफन्त तथा सुरक्षाकर्मी वा विभिन्न व्यक्तिले रगतको माग धानिरहेका थिए ।
सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिहरुलाई गुहार्नुपर्ने बाध्यता रहेको थियो ।