
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ मा ब्लड बैंक संचालनमा आएसंगै रक्तदान गर्न सुरु भएको छ । सोमबार देखि ब्लड बैंक संचालनमा आएको हो । ब्लड बैंकको उद्घाटन पश्चात विभिन्न रक्त समुह भएका १२ जनाले रक्तदान गरेको बताइएको छ ।
रक्तदान गर्नेमा चौरजहारी नगरपालिका वडा नम्वर १ नाखिराका ३७ वर्षिय रामवहादुर सुनारले, ३९ वर्षिय केशव सुनार, ३४ वर्षिया गीता आचार्य, ३६ वर्षिय चन्द्रकुमार केसी, ४० वर्षिय प्रेम सुनार र ३३ वर्षिय जमुना सुनार रहनुभएको छ । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्वर ३ का ४० वर्षिय देववहादुर वटाला, ४० वर्षिय देववहादुर रोकाय, ३१ वर्षिय कौशिला केसी र ४० वर्षिय गणेश पोख्रेलले रक्तदान गर्नुभएको छ ।
वडा नम्वर ८ का अध्यक्ष ४० वर्षिय शसीराम बिक र जाजरकोट भेरी नगरपालिका वडा नम्वर ११ का गणेशवहादुर रोकायले पनि रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो । ब्लड बैंकको उद्घाटन भएसंगै इच्छुकहरुले रक्तदान गरेको उहाँको भनाई छ ।
रक्तदाताहरुलाई रेडक्रस उपशाखा चौरजहारीले प्रमाण–पत्र प्रदान गरेको छ । त्यस्तै रेडक्रसको भवन निर्माणको लागि जग्गादान गर्ने स्थानीय समाजसेवी टिकाराम गिरीलाई पनि सम्मान गरिएको छ ।