Kakhara सबैको खबर सम्पूर्ण खबर
चालक अनुमति पत्रका लागि चौरजहारी यातायात कार्यालयबाट अनलाइन फारम खुला 

रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम खुला गरेको छ । कार्यालयले पहिलो पटक सवारी चालक अनुमति पत्रका लागि मंगलबार अपरान्ह ४ बजेदेखि अनलाइन आवेदन फारम खुला गरेको हो । यो संगै रुकुम पश्चिममा पहिलो पटक चालक अनुमति पत्र वितरणको प्रक्रिया सुरु भएको छ । 

आज देखि जिल्लाबाटै चालक अनुमति पत्रका लागि अनलाइन फारम भर्न सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । इच्छुकले यातायात व्यवस्था विभागको अनलाइन https://applydl.dotm.gov.np/login मा गएर फारम भर्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अनलाइन फारम भरेकाहरुको बायोमेट्रिक साउन १४ गते देखि हुने छ । 

त्यसपछि क्रमिक रुपमा अन्य पक्रियाहरु संचालन हुँदै जाने उहाँको भनाई छ । ‘ठूलो प्रयासपछि जिल्लाबाटै लाइसेन्स वितरणको प्रक्रिया सुरु भएको छ, अव जिल्लाबाटै मोटरसाइकल, स्कुटर, जीप, कार, मिनिबस लगायतका सवारी साधनको चालक अनुमति पत्र वितरण हुने छ,’ उहाँले भन्नुभयो । लाइसेन्सका लागि कार्यालयले ट्रायल सेन्टर र स्वास्थ्य परीक्षणका लागि डाक्टर छनोटकाे प्रक्रिया पनि जारी छ । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतको कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नविकरण लगायतका सेवा दिइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update