रुकुम पश्चिममा संघीय सरकारबाट आएको झण्डै साढे १३ करोड रुपैयाँ फिर्ता भएको छ । गत आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय तह र संघीय कार्यालयमा आएको कुल बजेट मध्ये १३ करोड ३६ लाख ३८ हजार ८४ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले जनाएको छ । सबैभन्दा बढी रकम मुसिकोट नगरपालिकाको फ्रिज भएको छ ।
कोष नियन्त्रक बोमलाल पराजुलीका अनुसार मुसिकोट नगरपालिकाबाट ४ करोड ३४ लाख ६२ हजार ५ सय २६ रुपैयाँ फिर्ज भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकाबाट ३ करोड ८३ लाख ८६ हजार १ सय ३४ रुपैंया फ्रिज हुँदा चौरजहारी नगरपालिकाबाट २ करोड ७१ लाख ४२ हजार १ सय ९८ रुपैयाँ र आठबीसकोट नगरपालिकाबाट १ करोड ६० लाख २० हजार ३ सय ५१ रुपैयाँ खर्च हुन नसक्दा फिर्ता गएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सानीभेरी गाउँपालिकाको ७६ लाख ४५ हजार ७ सय ६६ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकाको ९ लाख ८१ हजार १ सय ८ रुपैयाँ मात्र फ्रिज भएको छ । गत वर्ष जिल्लामा चालु र पुँजीगत तर्फ गरी कुल ६ अर्व ८७ करोड ३९ लाख ६ हजार ७ सय १४ रुपैयाँ आएको थियो । चालु तर्फ ४ अर्व ९८ करोड १० लाख ४५ हजार २ सय १४ रुपैयाँ आएकामा ४ अर्व ८५ करोड १० लाख ४४ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको छ । यो ९७.३९ प्रतिशत हो ।
पुँजीगत खर्च भने ६३.८७ प्रतिशत मात्र छ । पुँजीगत तर्फ १ अर्व ८९ करोड २८ लाख ६१ हजार ५ सय रुपैयाँ आएकामा १ अर्व २० करोड ९० लाख ७६ हजार ७ सय ७२ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । समानीकरण अनुदान तर्फ आएको रकम चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बचत भएको छ भने संघीय समपूरक, विशेष अनुदान र सशर्त अनुदान अन्तर्गत आई खर्च हुन नसकेको बजेट संघमै फिर्ता भएको कोष नियन्त्रक पराजुलीको भनाई छ ।
त्यस्तै जिल्लामा कार्यसंचालन कोष विविध तर्फ ११ करोड २ लाख ९० हजार ६३ रुपैयाँ रहेकामा ५ करोड २० लाख ६४ हजार १ सय १९ रुपैयाँ खर्च भएको छ । धरौटी तर्फ १४ करोड ७४ लाख १ हजार ३ सय २ रुपैयाँ आम्दानी भएकामा ५ करोड १५ लाख ८४ हजार ७ सय २० रुपैयाँ खर्च भएको कार्यालयको भनाई छ । यसका साथै जिल्लामा गत वर्ष कुल ६ करोड ८१ लाख ८४ हजार ६ सय ६८ रुपैयाँ राजस्व उठेको छ । स्थानीय तह तथा संघ मातहतका कार्यालयले उक्त परिमाणको राजस्व संकलन गरेका हुन् ।