रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । ५२ वर्षिया हस्तकली बुढाथोकी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गयराती १० बजेतिर जानकारी आएपछि घटनास्थलमा पुगेर हेर्दा बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराइले जानकारी दिनुभयो । बाहिरबाट ढोका लगाएको अवस्थामा शव भेटिएको उहाँको भनाई छ ।
बाहिरबाट ढोका लगाइएको अवस्थामा शव भेटिएकोले हत्या भएको हुनसक्ने तर्फ अनुसन्धान केन्द्रीत रहेको उहाँले बताउउनुभयो । तर अनुसन्धानमै रहेकोले यही हो भन्न सकिने अवस्था नरहेको डिएसपी भट्टराईले बताउनुभयो । स्थानीयका अनुसार बुढाथोकीको कानबाट रगत बगेकाे छ ।
गरगहना र पैसाको लागि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । उहाँ घरमा एक्लै बस्दै आउनुभएको थियो । दुई छोरा मध्ये कान्छा छोरा जापानमा रहनुभएको छ भने जेठा छोरा नेपालगञ्ज बस्दै आउनुभएको थियो । उहाँका श्रीमानको भने यसअघि नै मृत्यु भइसकेको छ ।