Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु शिक्षा क्याम्पसः कहाँ पुग्यो शिक्षिका राख्न घुस मागेको अडिओको छानबिन ? (कुराकानी सहित)

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा रहेको सिम्रुतु शिक्षा क्याम्पसमा शिक्षिका राख्न रकम मागेको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको ३ महिना पुग्दा पनि छानविन प्रतिवेदन बाहिर आउन सकेको छैन् । शिक्षिका राख्न रकम मागेको अडिओ रेकर्ड वैशाख २५ गते सामाजिक सञ्चाल मार्फत सार्वजनिक भएपछि जेठ १२ गते छानविन गर्न समिति बनेको थियो । उक्त छानविन समितिले अडियो रेकर्डको बास्तविकता अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । 

अडिओ रेकर्ड गर्ने त्रिवेणी २ का मनोज बुढाथोकी, अडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने पुर्व स्ववियु सभापति जीवन पुनको लिखित र मौखिक बयान भने समितिले लिइसकेकाे छ । लिखित र मौखिक बयान जेठ २३ गते सकिएको बताउँदै भदौ महिना भित्रै क्याक्पसलाई प्रतिवेदन बुझाईने अडिओ रेकर्ड प्रकरण छानविन समितिका संयोजक पूर्व त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला खड्का बिष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार छानविन समितिका सदस्यहरु एकपछि अर्को गर्दै विरामी हुने, आफु पनि लामो समयसम्म स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि जिल्ला बाहिर भएकाले ढिलाई भएको हो । छाविनको प्रक्रिया पुरा भई सकेकाले अव क्याम्पसमा प्रतिवदेन बुझाउन बाँकी रहेको उहाँले बताउनुभयो । आफु उपचारको लागि जिल्ला बाहिर रहेको बताउँदै आफु पुगेपछि समितिको बैठक बसेर प्रतिवेदन बुझाउने उहाँको भनाई छ । 

क्याम्पस संचालक समितिका उपाध्यक्ष शोभाराम बोहराले शिक्षिका बनाउन रकम मागेको र साथमै क्याम्पस प्रमुख सुर्यविक्रम खड्का बोलेको अडियो रेकर्ड वैशाख २५ गते सामाजिक सञ्जालनमा सार्वजनिक भएको थियो । उक्त अडियो रेकर्ड सार्वजनिक भएपछि विष्टको संयोजकमा ५ सदस्यीय छानविन समिति बनेको थियो ।

छानविन समितिका संयोजक बिष्टसंग कखराकर्मी बलेन्द्र ओलीले गरेको कुराकानीको अंशः

लामो समयसम्म छानविन गर्न सक्नु भएको छैन । छानविन समितिलाई के ले रोख्यो ?
छानविन गर्न कसैले रोकेको होईन । लिखित, मौखिक बयान भइसकेको छ । समितिमा रहेका सदस्य एकपछि अर्को गर्दै विरामी हुनुभयो । म आफै पनि दुर्घटनामा परेर उपचारको लागि जिल्ला बाहिर छु । म रुकुम आएपछि समितिको बैठक वस्छ । त्यसपछि क्याम्पसलाई प्रतिवेदन बुझाउँछौ । छानविन रोकिएको छैन, भदौ महिना भित्रै क्याम्पसलाई प्रतिवेदन बुझाउँछौ । 

अडियो रेकर्ड प्रकरणमा कसको दोष देखियो ?
लिखित र मौखिक बयान लियौं । अहिले नै को दोषि भन्ने अवस्था छैन् । दुवै तर्फको दोष देखिन्छ । सबैको स्वार्थ देखिन्छ । धेरै भन्न मिल्दैन प्रतिवेदन बुझाएपछि सबै कुरा थाहा हुन्छ । अहिले नै कसैलाई दोषि वा निर्दोष भन्ने अवस्था छैन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update