सुदाम शर्मा
मान्छे राम्रो छ । धेरै प्रभावशाली छ । आफ्ना साथीहरुको लागि परेको बेलामा सक्दो सहयोग पनि गर्न सक्ने खालको छ । उनीहरुको बिचार, कार्य र शब्दहरुले उसलाई प्रतिबिम्बित गर्छ । त्यसैले भनिन्छ सभ्य र असल हुने अधिक महत्वपूर्ण कुरा हो । केही विशेषताहरु जुन प्रायःराम्रो मान्छेको परिभाषामा सामेल गरिएको छन । जसलाई मानवजीवनका आभूषण भन्ने गरिन्छ । ती निम्न प्रकारका छन ।
१. शील–
दारिद्र्यनाशनं दानं शीलं दुर्गतिनाशनम् ।
अज्ञाननाशिनी प्रज्ञा भावना भयनाशिनी ।।
अर्थ– दान लिए दरिद्रताको नष्ट गर्छ । शिल र स्वभावले दुःखको नाश गर्छ । बुद्धिले अज्ञानको नाश गर्छ । भावनाले भयको नाश गर्दछ । तसर्थ मानिसको मानव जिबनमा शिष्टता, सदाचार, मर्यादा, निर्भरता, स्वभाव, उदारता, धैर्यता, संवेदना आदि शील हुन् । मानव जीवनमा शिष्टता नै भएन भने त्यो मानव पशु सामान कहलाउँछ । मानवजीवनमा शिष्टता, सदाचार र आफ्नो मर्यादा, निडर स्वभाव, उदारता, धैर्यता र संवेदना आदि शील हुन् ।
२. लज्जा–
मानव जीवनको महत्वपूर्ण गहनाको रुपमा लज्जालाई लिने गरिन्छ जब मानिसमा कुनैपनि सामाजिक व्यावहारिक लज्जा र नैतिकताले नै मानिसलाई आफ्नो प्रगतीको बाटोमा अग्रसर गराउँछ । जब मानिसले लज्जा नै त्याग्यो भने सामाजिक रुपमा नै बहिष्कृत हुने गर्दछ । त्यसैले मानवजीवनको एक कडीको रुपमा लज्जालाई लिने गरिन्छ ।
३. मधुरवाणी–
मधुर वचन बोल्नु, सत्य भाषण गर्नु, हितकारी कुरा बोल्ने र सुन्ने दुवै प्रसन्न हुने वचन बोल्नु, सत्य कुरा बोल्नु मानवजीवनको अर्को गहना हो । मानवजीवनको गहनाको रुपमा उसको मधुर वाणी अथवा वाक्यलाई लिने गरिन्छ । जस्तोसुकै कठिन अवस्थामा पनि मानिसको मधुर वाणीले गर्दा उसको काम बन्ने गर्दछ । मधुर वाणीले नै मित्र बनाउँछ । आफ्ना बालबच्चालाई मधुर वाणी सिकाउनु र सद्भाव बचन सिकाउन जरुरत छ । मधुरताले मानिसलाई सर्वश्रेष्ठ बनाउँछ । बोली र व्यवहारले नै असल मानिसको परिचय दिन्छ । तपाईंको शिष्टता सभ्य बोली र सरल स्वभावले कठिनतालाई पनि सहजता प्रदान गर्दछ ।
४. दृढता–
व्यवहारप्रति अडिक रहनु नै दृढता हो । कुनै पनि मानिस आफ्नो कार्य वा आफ्नो नियममा रहेर प्रयत्नशील रहयो भने आफ्नो जीवनमा सन्तोष बन्न सक्दछ । कुनैपनि व्यवहारमा कामप्रति लगनशील भयो भने प्रगती गर्न सक्छ । संकल्प लिएर कुनै कार्य गर्यो भने मानिस प्रगतीको शिखरमा चढ्न सक्दछ । कुनैपनि कामप्रति लगाव र धीरता भएन भने मानिस सदैव दुखी रहन सक्दैन । जीवन एक संघर्षशील अवस्था हो । संघर्षमय जीवनमा दृढता आवश्यक छ । यसले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्छ ।
५.सरल स्वभाव–
व्यक्तिको मूल गुण या प्रकृति मनन अनुसारको काम गर्ने आदत नै उसको स्वभाव हो । स्वभाव भन्ने वित्तिकै मानव जीवनको आर्जित आचरण हो । यो अन्तरआत्मा देखि नै संचालित भएको हुन्छ । सरल स्वभाव बाहिरी जस्तै भित्री आत्मा देखि नै हुन्छ । जब हामी बनावटी व्यवहार वा छलकपट गर्न थाल्छौं तब हाम्रो मन देखि नै बानीमा प्रत्यक्ष असर पर्दछ । अर्थात हाम्रो व्यवहार स्वभावको आधारमा भिन्न हुने गर्दछ । सरल स्वभाव सौहार्दताले भरिएको हुन्छ । छल पूर्ण व्यवहारले विभिन्न कठोर कुटिलता दिने गर्दछ । बक्र स्वभावले व्यक्तिलाई भित्रभित्रै पोलिरहेको हुन्छ । दुष्ट स्वभावका कारण मान्छे कठिनता तर्फ गरिरहेको हुन्छ । परन्तु उसलाई समाजले आभौतिकता, असत्य अन्याय र स्वार्थ भावनाले हेर्ने गर्दछन् । यसको विपरित सरल स्वभाव भएका मानिसलाई शुद्ध भावले हेर्ने गर्दछन् । सबैले उसको मान गर्ने गर्दछन् । सरल स्वभावका ब्यक्तिको चिन्तन सबैले मान्ने गर्दछन् ।
६.सन्तोष–
शास्त्रहरूमा भनिएको छ ‘सन्तोषं परमं सुखमं’ अर्थात सन्तोष नै महान सुख हो । हामी आफ्नो दैनिक व्यवहारबाट सुख प्राप्त गर्न सक्यौं भने हाम्रो जीवन सरल हुनेगर्दछ । तसर्थ सन्तोषलाई पनि जीवनको एक अभिन्न गहनाको रुपमा लिने गरिन्छ । हामीले आफ्नो व्यवहारमा सन्तोष भयौं भने अग्रता तिर बढ्न सक्छौं । दैनिक जीवनमा गरिने कार्यहरुप्रति मानिस खुसी र सुख सन्तोष प्राप्त गर्न सक्ने हुनुपर्दछ । असन्तोषले मान्छेको जीवनमा कलह बढाउछ अथवा द्वन्द तर्फ लैजान्छ । स–साना कुरामा असन्तोष हुँदा परिवारमा मनमुटाव हुने गर्दछ । त्यसैले आफ्नो परिवार, समाज र क्षेत्रलाई सहजता तर्फ लैजान मानिस सन्तोष हुनुपर्दछ ।
७. सु–हृदय–
मानिस एक सामाजिक प्राणी हो । उसको हरेक गतिविधि सञ्चालन गर्ने कार्य उसको मनमुटुबाट हुने भएकोले उसको हृदय सधै पनि परोपकारी, अर्काको दुःखमा सहानुभूति प्रदान गर्ने खालको हुनुपर्दछ । मानिसको अन्तर आत्मा नै असाध्यै नरम प्रकारको हुनुपर्दछ । गाउँ समाजमा हुने विभिन्न गतिविधिमा सरिक हुनुपर्छ ।
८. विनम्रता–
नीति श्लोकमा भनिएको छ ‘विनयम् ध्याती पात्रतम पात्रत्वां धनंमाप्नोति धना धर्म तत सुखम ।’ यसको अर्थ मानिसलाई महान बनाउने विनम्रता हो । महान मान्छे भएपछि धन कमाउँछ, पैसा कमाएपछि मानिसले धर्म गर्छ त्यसपछि सुख हुन्छ । मानवजीवनको गहनाको रुपमा विनम्रतालाई लिने गरिन्छ । विनम्रताले मान्छेको मनलाई भावुक बनाउने गर्दछ । जब कुनैपनि कठिन काम गर्दा मानिस विनम्र भएर कसैसँग प्रस्तुत हुन्छ भने उसलाई समाज र त्यहाँ भएका मानिसहरूले सहजता पूर्वक स्वीकार गर्ने गर्दछन् । तसर्थ विनम्रतालाई पनि महत्वपूर्ण कडीको रुपमा लिने गरिन्छ ।
९. क्षमा–
क्षमा शिवे भगवति, क्षमा दानं परम सुखम् ।
क्षमा दृढ़ता शक्तिश्च, क्षमायाः पापकर्मिणाम् ।
अर्थः क्षमामा भगवान शिव हुनुहुन्छ । क्षमा दिनाले परम सुख हुन्छ । क्षमा दृढ शक्ति हो । क्षमा पाप कर्मीहरुको लागि हो । कुनैपनि नराम्रो काम गर्ने मानिसलाई क्षमा दिनु एक महान कार्य हो । मानव जीवनमा जानीनजानी गरिएका नराम्रा कार्यहरूले गर्दा मानव कलंकित हुने गर्दछ । मानिसले उसलाई बदला लिनुको सट्टा क्षमा दिन सक्ने हुनुपर्दछ । क्षमाले मानव जीवनलाई सुधार्ने अवसर दिने गर्दछ । तसर्थ क्षमालाई पनि मानवजीवनको एउटा गहना मानिएको छ ।
१०. शुद्धता–
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा ।
यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचि ।।
अर्थ– जो कोही अशुद्ध या शुद्ध हुन्छ त्यसको हो प्रत्यक्ष निगरानी पुण्डरीकाक्ष (भगवान विष्णु) ले गर्नुहुन्छ । शुद्धतापनि शक्ति प्रदान गर्ने स्रोत हो । जब मानिसहरु शुद्ध रहँदैनन् उनीहरुलाई विभिन्न प्रकारका रोगहरुले सताउने गर्दछ । शुद्धता मानिसमा आवश्यक पर्ने गहना हो । मानिसको बोलीमा शुद्धता हुनुपर्छ, मानिसको व्यवहारमा शुद्धता हुनुपर्दछ, मानिसको शरीरमा शुद्धता हुनुपर्छ, मानिसको घरमा शुद्धता हुनुपर्छ तब मात्रै मानिस सहजरुपमा जिउन सक्दछ । तन, मन र वचनमा शुद्धता भएन भने मानिस कमजोर साबित हुने गर्दछ ।
११. सेवा भाव–
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं ।।
अर्थ– ठूलाबडालाई अभिवादन गर्ने मानिस र सधै वृद्धवृद्धाको सेवा गर्ने मानिसको आयु, विद्या, यश र बल सधै बढ्दै जान्छ । त्यसैले मानव जीवन सेवा भावमा समर्पित हुनु पर्दछ । कुनैपनि दीन दुःखीलाई आफुले सक्ने सहयोग गर्नुपर्छ । वच्चा, वृद्ध, असहाय, अपाङ्ग र अशक्त व्यक्तिहरूको सहयोग गर्नु मानवजीवनको मुख्य कर्म हो । मान्छे भएर जन्म लिएर कुनै कार्य गर्न नसके पनि आफूले सक्ने सहयोग गर्नु मानव जीवनको महत्वपूर्ण काम हो ।
१२. सत्यनिष्ठा (पतिव्रता)–
गरुड़ पुराणको श्लोक अनुसार,
‘सा भार्या या गृहे दक्षा सा भार्या या प्रियंवदा ।
सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता ।।’
अर्थ– चार गुण गृहदक्षता, प्रियबन्दता, पतिव्रता र सुरक्षणा हुन् । गुणवाला पत्नि वा पति मिल्दछन् ती सधैं भाग्यशाली हुने गर्दछन् । पति–पत्नी एक रथका दुई पांग्रा हुन् । खुसीसाथ दाम्पत्य जीवन बिताउन यदि कुनैपनि अबगुण भएमा सकिदैन । जस्तै कुनैपनि रथको एउटामात्र पांग्रा नचलेमा रथको गति अगाडि बढ्न सक्दैन तसर्थ पति पत्नीमा पनि तालमेल हुन जरुरी छ । विभिन्न शास्त्रमा पति–पत्नी आधा–आधा अङ्ग भएको कुरा वर्णन गरिएको छ । जुन एउटा बिना एउटाको जीवन अधुरो हुने गर्दछ । त्यसैले पति–पत्नी वितमा सुमधुर सम्बन्ध हुनु जरुरी छ ।
हाम्रो व्यक्तित्व जीवनभर परिवर्तन पनि भइरहन्छ । आधारभूत रूपमा हाम्रो व्यक्तित्व हाम्रो बानीमा निर्भर रहन्छ । हाम्रो बानी अनुसार हाम्रो व्यवहार बन्छ । तर, जीवनमा हामी जस्ता मानिससँग घुलमिल हुन सुरु गर्छौं, त्यसैअनुसार हामीभित्र राम्रा र नराम्रा गुण पनि उत्पन्न हुन्छ्न् ।