रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालयमा व्यापारीले ताल्चा लगाउँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गर्दा ल्याएको निर्माण सामग्रीको रकम नतिर्दा विद्यालयमा बुधवार देखि ताल्चा लागेको हो । विद्यालयमा लागेको ताल्चा नखुल्दा आज आएका विद्यार्थीलाई घर फिर्ता पठाएको प्रधानाध्यापक भीमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज विद्यालयमा आएका ५० जना विद्यार्थीलाई ताल्चा खुल्ने सम्भावना नदेखिएपछि डेढ घण्टा पर्खाएर घर पठाएको हो ।
विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । यस विषयमा पटक पटक वडा र पालिकासँग छलफल गर्दा पनि समस्या हल हुन नसकेको उहाँको भनाई छ । विद्यालय भवन निर्माण गर्दा ल्याएको सामग्रीको १८ लाख ३७ हजार ७ सय रकम नतिरेपछि सानीभेरी टेड्रर्स एन्ड सप्लायर्सका सञ्चालक शशिराम ओलीको परिवारले विद्यालयमा ताल्चा लगाएको हो । विद्यालयमा पहिलो पटक मङ्गलवार ताल्चा लगाइएको थियो । त्यसपछि भने गाउँपालिकासँग सहमति भएपछि ताल्चा खोलिएको थियो ।
तर फेरी बुधवार ताल्चा लगाउँदै रकम नतिरेसम्म विद्यालयको ताल्चा नखोल्ने परिवारका एक सदस्य बालकृष्ण ओलीले बताउनुभयो । भवन निर्माण गर्दा निर्माण सामग्रीको रकम तिर्न बाँकी रहेको विद्यालय स्विकारेको छ । २ वटा भवन निर्माणको लागि १६/१६ लाख बजेट प्राप्त भएको र त्यसमा एउटा भवन निर्माण गर्दा गर्दा १० लाख भन्दा धेरै रकम घाटा लागेको प्र अ ओलीले बताउनुभयो । स्थानीय र शिक्षकको आर्थिक सहयोगमा २६ लाखको जग्गा किनिएको थियो । त्यसमा केही रकम बुझाए पनि अझै रकम बुझाउन बाकी रहेको छ ।
विद्यालय बन्द भएपछि खुलाउने प्रयासको लागि सरोकारवालासँग छलफल गर्न लागिएको प्र अ ओलीले बताउनुभयो । स्थानीय तथा प्रदेश सरकारले ४० देखि ५० लाखसम्म बजेट व्यवस्थापन गर्न सके विद्यालयको समस्याको हल हुने विद्यालयले जनाएको छ ।