Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिभुवन जनता माविका शिक्षक आन्दोलित, विव्यस विगठनका लागि दबाब दिन नगरपालिका पुगे
नगर कार्यपालिकाकाे कार्यालय सेरीगाउँ पुगेका शिक्षक कर्मचारीहरु ।

रुकुम पश्चिमको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन जनता मावि खलङ्गाका अधिकांश शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । विद्यालय व्यवस्थापन समिति विगठनको माग सहित अधिकांश शिक्षक कर्मचारी आन्दोलित भएका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले विद्यालयमा शैक्षिक वातावरण बिथोलेको भन्दै शिक्षक कर्मचारीले अध्यक्ष सहित वर्तमान विद्यालय व्यवस्थापन समिति नै विगठनको माग गरेका छन् । प्रअ सहित ५ जना शिक्षक, कर्मचारी बाहेक विद्यालयमा कार्यरत ३३ जना शिक्षक कर्मचारी मध्ये २८ जनाले गत असोज १४ गते मुसिकोट नगरपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष केसीलाई कारबाही तथा विद्यालय व्यवस्थापन समिति विगठनको माग गरेका थिए ।

यसमा नगरपालिकाले चासो नदेखाएपछि सोमबार शिक्षक कर्मचारीहरू नगरपालिका पुगेका हुन् । १४ गते हस्ताक्षर गरेका २८ जना तथा सोमबार थपिएका १ जना गरी ३३ जनामा २९ जना शिक्षक कर्मचारी नगरपालिका पुगेर आफ्ना माग तत्काल पुरा गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएको सहायक प्रध्यानाध्यापक सङ्गम केसीले जानकारी दिनुभयो । आफूहरू वर्तमान विद्यालय व्यवस्थापन समिति विगठन हुनुपर्ने एक सूत्रीय मागमा अडिग रहेको उहाँले बताउनुभयो । ‘बाध्य नै भएर हामी सङ्घर्षमा उत्रिएका हौँ, यो विद्यालय व्यवस्थापन समिति रहुन्जेलसम्म सहज रूपमा पठनपाठनमा जोडिने अवस्था नै छैन, उहाँले भन्नुभयो–माग पुरा नभएसम्म हाम्रो सङ्घर्ष रोकिन्न ।’

विव्यस अध्यक्ष नरेन्द्र केसीले विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण बिगारेको शिक्षक कर्मचारीको आरोप छ । मुसिकोट नगर शिक्षा ऐन अनुसार गठित विव्यस अध्यक्ष केसीले  विद्यालयमा आफ्ना निहित स्वार्थ सिद्ध गर्ने उद्देश्यले विद्यालयको शैक्षिक प्रशासनिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरी आफ्नो पदीय आचरण उलङ्घन गर्ने काम गरेकोले केसीलाई नगर शिक्षा नियमावली २०७४ को नियम ३२ मा व्यवस्था भएअनुसार अध्यक्ष सहित विव्यस विगठन गरी अध्यक्षलाई नियमानुसार आवश्यक कारबाही गर्न शिक्षकहरूको माग छ । आवश्यक परे विद्यार्थी सहित आन्दोलनका कार्यक्रम अघि बढाउने आन्दोलनरत शिक्षक कर्मचारीहरूको चेतावनी छ ।

सोमबार नगर कार्यपालिकाको कार्यालय शेरिगाउँमा पुगेका शिक्षक कर्मचारीहरूले यथाशीघ्र आफूहरूको माग पुरा गर्न ध्यानाकर्षण गराएका छन् । साथै असोज १४ गते निवेदनपछि नगरपालिकाले सत्य तथ्य स्पष्टीकरण पेस गर्न भनी विद्यालयलाई पत्र प्राप्त भएकामा प्रधानाध्यापक गोपीराम केसीले विद्यालयमा कुनै पनि छलफल नगराई आफ्नो मनोमानी ढङ्गले स्पष्टीकरण तयार पारी नगरपालिकामा पेस गरेको समेत जानकारी गराएका छन् । उनीहरूले नगर उपप्रमुख बिमलकुमार पुनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । शिक्षक डम्बर खड्काले पत्र बुझाउनुभएकाे थियाे । 

प्रअ गोपीराम केसीले भने विद्यालयका बहुमत शिक्षकको धारणा १५ बुँदे पत्र मार्फत नगरपालिकामा पुगिसकेकोले उहाँहरूको थप धारणा बुझ्न आवश्यक नभएको बताउनुभयो । ‘बहुमत शिक्षक कर्मचारीहरू आन्दोलित हुनुहुन्छ, विव्यसप्रतिको उहाँहरूको धारणा के हो भन्ने बारेमा उहाँहरूले नगरपालिकामा बुझाएको १५ बुँदे पत्रमा स्पष्ट खुलेको छ, यसमा थप बुझ्न आवश्यक थिएन उहाँले भन्नुभयो ।’ एकलौटी रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई लगाएका धेरै आरोपहरू शिक्षक कर्मचारीहरू तिरै फर्किएको समेत उहाँले बताउनुभयो । व्यक्तिगत इगोलाई लिएर शिक्षकहरू आन्दोलित भएको उहाँको आरोप छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले भने शिक्षक कर्मचारीहरूको आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभएको छ । विव्यस गठन वा विगठनमा शिक्षक कर्मचारीको सहमति वा असहमतिले कुनै अर्थ नराख्ने उहाँको दाबी छ । साथै उहाँले आफुले विद्यालयलाई घाटा लाग्ने कुनै पनि काम नगरेको बताउनुभएको छ । प्रमाण सहित आउन उहाँले शिक्षक तथा कर्मचारीहरूलाई चुनौती समेत दिनुभएको छ । 

यी हुन विव्यस अध्यक्षमाथि शिक्षक कर्मचारीका १५ आरोप:
शिक्षक कर्मचारीहरूले नगरपालिकामा बुझाएको पत्रमा १५ बुँदामा विव्यस अध्यक्ष केसीले पदीय आचरण उल्लङ्घन गरेको उल्लेख गरिएको छ । केसीले विव्यस तथा विद्यालयमा कार्यरत शिक्षकहरूको संयुक्त बैठकमा सामान्य भनसुनलाई लिई विद्यालयको लेटर हेड र छाप अनधिकृत रूपमा प्रयोग गरी मुद्दा हाल्ने काम गरेको, शैक्षिक मैत्री वातावरण बनाउन नसकेको, पुराना फाइल तथा अभिलेखहरू खोजी गर्दै मुद्दा हाल्ने काम गरेको शिक्षक तथा कर्मचारीहरूको भनाई छ ।

विद्यालयमा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै राजीनामा माग गरेको, तत्कालीन उमाविको रिक्त शिक्षक कोटामा करिब १ वर्ष सम्म पनि नयाँ शिक्षक भर्ना नगरी विद्यालयलाई करिब ८ लाख घाटा पारेको, समयमै विव्यसको बैठक बसाउन अनुरोध गर्दागर्दै पनि बैठक नवसाली सिटिइभिटी तर्फको अनुदान रकम ६ लाख घाटा पारेको, फर्जी अभिभावक बनी विव्यसको अध्यक्ष बनेको शिक्षक कर्मचारीहरूको आरोप छ । 

त्यस्तै विद्यालयको नियमित सञ्चालन प्रक्रियामा लेखा अवरुद्ध गरेको, सामाजिक लेखा परीक्षण नभई अन्तिम लेखा परीक्षण गराएको, विभिन्न उपसमिति गठन गरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई मनोवैज्ञानिक रूपले तनावग्रस्त तुल्याएको, प्रशासनिक हस्तक्षेप गरेको र एकाधिकारवादी शैलीबाट विव्यस र विद्यालयमा प्रस्तुत भएको समेत शिक्षक कर्मचारीले नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ । 

वडा सरकार लगायतसँग समन्वय नगरेको, विद्यालयको ७१ औँ वार्षिकोत्सव मनोमानी ढङ्गले सञ्चालन गरेको र वार्षिकोत्सवमा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन विव्यसमा छलफल र प्रअसंग समन्वय नै नगरी मनोमानी ढङ्गले प्रस्तुत गरेको पनि शिक्षक कर्मचारीको आरोप छ । 

के भन्छन विव्यस अध्यक्ष केसी ? 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले भने शिक्षक कर्मचारीहरूकाे आन्दाेलनकाे कुनै कानुनी तथा व्यवहारिक अर्थ नभएको दाबी गर्नुभएको छ । विद्यालय व्यवस्थापन समिति गठन वा विगठनमा शिक्षक कर्मचारीको सहमति वा असहमतिले कुनै अर्थ नराख्ने उहाँले बताउनुभयो । ‘विव्यस विगठनका लागि मुख्य गरी आर्थिक हिनामिना गरेको, विद्यालयको सम्पत्ति दुरुपयोग गरेको वा शैक्षिक वातावरणलाई अस्तव्यस्त पारेको हुनुपर्यो नि, हामीले अथवा मैले व्यक्तिगत रूपमा कहाँनेर गल्ती गरे प्रमाण सहित आउनुपर्याे नि, अनावश्यक कसैको लहलहैमा लागेर हस्ताक्षर गरेको कुराले केही अर्थ राख्दैन’ उहाँले भन्नुभयो ।

साथै उहाँले विद्यालय व्यवस्थापन समितिमा आफूले कुनै पनि निर्णय व्यक्तिगत रूपमा नगरेको स्पष्ट पार्नुभयो । ‘हामीले जे निर्णय गरेका छौँ सबै सहमतिमा वा बहुमतका आधारमा सामूहिक रूपमा भएका छन्, उहाँले भन्नुभयो–यसमा अध्यक्षको मात्र व्यक्तिगत निर्णय केही छैन ।’ विद्यालयको सुधारका लागि काम गर्दा आफुमाथि चौतर्फि प्रहार भइरहेको समेत उहाँको भनाई छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update