रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा सञ्चालित जनक–सुधन स्मृति रनिङ शिल्ड महिला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको शिल्ड बागलुङ निसिखोला २ ले जितेको छ ।
बराहटाकुरामा आज भएको फाइनलमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर ४ लाई ३–० को सोझो सेटमा पराजित गर्दै निसिखोला २ ले शिल्ड जितेको हो । विजेता टिमले कप र ट्रफि आफ्नो साथमा लिए पनि शिल्ड भने लिन पाएन । शिल्ड कब्जा गर्नका लागि एउटा टिमले लगातार तीन वर्ष जित्नुपर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले जानकारी दिनुभयो ।
पहिलो वर्षको उपाधि जितेर पुरुष तर्फ निसिखोला २ ले एक कदम अघि बढाएको विएमको भनाई छ । बाँफिकोट ८ तृतीय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुरुष तर्फको विजेता निसिखोला २ ले १ लाख ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
उपविजेता सानीभेरी ४ ले नगद १ लाख १ हजार, कप, मेडल र प्रमाण–पत्र पाउँदा तृतीय स्थान हासिल गर्ने बाँफिकोट ८ ले नगद ५१ हजार कप, मेडल र प्रमाण–पत्र पाएको छ । विभिन्न विधागत तर्फ पनि खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, बागलुङ लगायत जिल्लाका २२ प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता स्वर्गीय खेलाडी द्वय जनक शाह र सुधन श्रेष्ठको स्मृतिमा आयोजना गरिएको अध्यक्ष बिएमले जानकारी दिनुभयो । उहाँहरू दुवै जनाको २०७४ साल मङ्सिर ८ गते मुसिकोटको कानेवाङमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । उहाँको योगदान र स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बिएमले बताउनुभयो । उहाँका अनुसार यो प्रतियोगिता अव देखि हरेक वर्ष आयोजना हुने छ ।