रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा सञ्चालित जनक–सुधन स्मृति रनिङ शिल्ड महिला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको शिल्ड रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ ले जितेको छ ।
बराहटाकुरामा आज भएको फाइनलमा सल्यानको दार्मा गाउँपालिका ४ लाई पराजित गर्दै बाँफिकोट ४ ले शिल्ड जितेको हो । विजेता टिमले कप र ट्रफि आफ्नो साथमा लिए पनि शिल्ड भने लिन पाएन । शिल्ड कब्जा गर्नका लागि एउटा टिमले लगातार तीन वर्ष जित्नुपर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले जानकारी दिनुभयो ।
पहिलो वर्षको उपाधि जितेर बाँफिकोट ४ ले एक कदम अघि बढाएको विएमको भनाई छ । सानीभेरी ४ तृतीय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिला तर्फको विजेता बाँफिकोट ४ ले नगद ५१ हजार, रनिङ्ग, कप, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दार्मा ४ ले नगद ३१ हजार तथा तेस्रो हुने सानीभेरी ४ ले नगद २१ हजार कप, मेडल र प्रमाणपत्र पाएको छ ।
र महिला तर्फ रुकुम पश्चिम, सल्यान लगायत जिल्लाका ८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । विभिन्न विधागत तर्फ पनि खेलाडी पुरस्कृत गरिएको छ । यो प्रतियोगिता स्वर्गीय खेलाडी द्वय जनक शाह र सुधन श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो । यो प्रतियोगिता अव देखि हरेक वर्ष आयोजना हुने बताइएको छ ।