अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको छ । अन्य पदमा निर्विरोध भएपछि अध्यक्षमा मात्र चुनाव हुने भएको हो । अध्यक्षका लागि तीन जना प्रतिस्पर्धी रहेका छन् । सुरुमा ४ जनाको उम्मेदवारी परे पनि निर्मला बुढाथोकीले नाम फिर्ता लिएपछि अब अध्यक्षका लागि खुमराज ओली, निराजन केसी र विशाल बिस्टका बिचमा प्रतिस्पर्धा हुने भएको हो ।
जिल्ला समितिमा चयन भएका ३३ जनाले अध्यक्ष चुन्न मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ । अब केही समयमा मतदान सुरु हुने बताइएको छ । सुरुमा अध्यक्ष र सचिवमा निर्वाचन हुने देखिएको थियो । तर सचिवमा उम्मेदवारी दिएका अपार रसाइलीले उम्मेदवारी फिर्ता लिएपछि सचिवमा दुर्गाप्रसाद विश्वकर्मा निर्विरोध हुनुभएको छ । उपाध्यक्ष, सह सचिव र कोषाध्यक्षमा सुरुमै निर्विरोध भएको थियो ।
एकल उम्मेदवारी परेपछि उपाध्यक्षमा किरण विश्वकर्मा र दीपेन्द्र ओली, सह सचिवमा पूजा विक र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध हुनुभएको हो । मुसिकोट ५ सेरिगाउँको सहिद प्रतिष्ठानको सभा हलमा हिजो देखि सुरु भएको अखिल क्रान्तिकारीको २७ औँ जिल्ला सम्मेलन नेतृत्व चयन गर्दै आज सकिने सङ्गठनले जनाएको छ ।