रुकुम पश्चिममा अटो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा ३ मा आज दिउँसो अटो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । वडा नम्बर १ को खलङ्गाबाट वडा नम्बर १३ को चौतारा तर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर २ का ५० वर्षीय एकबहादुर बुढा, वडा नम्बर ५ का ४८ वर्षीय चन्द्रबहादुर बुढा, वडा नम्बर १४ का ३८ वर्षीय सुशील विष्ट, २२ वर्षीय विशाल विष्ट, १८ वर्षीय कपिल विष्ट रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिनुभयो । सुशील, विशाल र कपिल एकाघरकै तीन दाजु भाइ हुन । त्यस्तै सुशील भूमि आयाेग रूकुम पश्चिमका विज्ञ सदस्य हुनुहुन्छ ।
त्यस्तै घाइते हुने अन्यमा मुसिकोट नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रामबहादुर विक, रुकुम पुर्व भूमे गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय दिलीप विक र अटो चालक मुसिकोट नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय गोविन्द विक रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । उहाँका अनुसार घाइतेहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो सडकबाट जम्मा ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।