रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको एक होटेलमा मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिला मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना विक रहेको खुलेको हो । खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलवार बिहान शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहितको टोली आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुर सहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । शव फेला परेको कोठा आइतबार त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा बुक गरिएको पाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
‘मृतक महिलालाई विकासले आफ्नी श्रीमती भनेर उल्लेख गरेको पाइएको छ, होटेलमा लेखिएको नाम सत्य हो कि होइन अनुसन्धान भइरहेको छ उहाँले भन्नुभयो ।’ प्रहरीका अनुसार कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र सिरकले छोपेको अवस्थामा शव भेटिएको हो । होटेलमा जानकारी नगराई हिजो देखि नै बाहिरबाट ताल्चा लगाएको देखिएपछि शङ्कास्पद ठानेर कोठा खोली हेर्दा शव फेला परेको होटेल सञ्चालकको भनाई छ ।
मृतक महिलाको आँखा छोपिने गरी टाउकोमा पट्टीले बाँधिएको र टाउकोबाट रगत बगेको देखिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । ‘हत्या भएको देखिन्छ, शरीरका कुन भागमा के कति चोट छ भनेर अहिले भन्ने अवस्था छैन, कुकुर सहितको टोली आइरहेकोले हामीले शवलाई छोएका छैनौँ, अहिले बाहिरबाट हेर्दा टाउकोबाट रगत आइरहेकोले टाउकोमा चोट हुनसक्ने अनुमान छ, उहाँले भन्नुभयो ।’