Kakhara सबैको खबर सम्पूर्ण खबर
भावनाको हत्या योजनाबद्ध, लोकबहादुर सिम्लीबाटै बाेकेर आएका थिए चक्कु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना विकको हत्या योजनाबद्ध रूपमा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले भावनाको हत्या योजनाबद्ध रूपमा भएको बताउनुभयो । भावनाको हत्या आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकलाई पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट लोकबहादुरले योजनाबद्ध रूपमा भावनाको हत्या गरेको देखिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । ‘लोकबहादुरले सुरुमा भावनाले चक्कु ल्याएको र सोही चक्कुले भावनाको हत्या गरेको बयान दिएका थिए, तर अनुसन्धानका क्रममा लोकबहादुरले नै चक्कु किनेको पुष्टि भएको छ, उनी घटना घटाउने उद्देश्यले सिम्लीबाट नै चक्कु किनेर खलङ्गा आएका थिए, उहाँले भन्नुभयो ।’ उनले चक्कु किनेको पसल तथा उनलाई मोटरसाइकलमा खलङ्गासम्म ल्याउने व्यक्तिको समेत पहिचान खुलिसकेको डिएसपी भट्टराईको भनाई छ । उहाँका अनुसार चक्कु नै किनेर ल्याएको पुष्टि भएपछि उनले योजनाबद्ध रूपमै भावनाको हत्या गरेको पुष्टि भएको हो । 

त्यस्तै लोकबहादुरले भावनाबाट पैसा लिएको समेत फेला परेको छ । प्रारम्भिक बयानका क्रममा लोकबहादुरले भावनालाई ५ लाख रुपैयाँ सापटी दिएको र भावनाले विवाहका लागि दबाब दिएको भन्दै हत्या गरेको बयान दिएका थिए । तर अनुसन्धानका क्रममा भावनाले नभई लोकबहादुरले भावनाबाट पैसा लिएको खुलेको डिएसपी भट्टराईले जानकारी दिनुभयो । ‘भावनालाई पैसा दिएको भन्ने लोकबहादुरको बयान पनि गलत देखिएको छ, उल्टै भावनाबाट लोकबहादुरले ५० हजारको चेक लगेको भेटिएको छ, उहाँले भन्नुभयो–लोकबहादुरको बैङ्क स्टेटमेन्ट मगाएका छौँ, त्यसबाट थप खुल्ला ।’ घटनाको अनुसन्धान जारी रहेको तर अहिलेसम्मको अनुसन्धानबाट लोकबहादुरले योजना बनाएरै भावनाको हत्या गरेको देखिएको डिएसपी भट्टराईले बताउनुभयो ।

लोकबहादुरले भावनाले विवाहका लागि दबाब दिएपछि हत्या गरेको बयान दिए पनि भावनाले आफूले दिएको पैसा माग्न थालेपछि लोकबहादुरले हत्या गरेको तिर अनुसन्धान मोडिएको प्रहरीको भनाई छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत असोज ३० गते बिहान भावनाको शव मुसिकोट खलङ्गाको सत्कार होटेलमा भेटिएको थियो । त्यसको पर्सिपल्ट नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूका बिचमा गत स्थानीय तहको निर्वाचनको क्रममा चिनचान भएको र सोही चिनजान प्रेम सम्बन्धमा बदलिएको प्रहरीको भनाई छ ।

अनुसन्धानका क्रममा पछिल्लो २५ दिनमा उनीहरू बिच १ सय २४ पटक कुराकानी भएको फेला परेको प्रहरी बताउँछ । सम्बन्ध बढ्दै गएपछि उनीहरू बिचमा आर्थिक लेनदेन समेत सुरु भएको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । लोकबहादुर बहुविवाह मुद्दामा दोषी करार भई कारागार चलान भइसकेका व्यक्ति हुन । उनी गत असोज ३ गते संविधान दिवसका अवसरमा बाँकी सजाय मिनाहा भएपछि जेलमुक्त भएका थिए ।   

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update