रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा दर्ता नभएका अटो सञ्चालनमा रोक लगाइने भएको छ । मुसिकोटमा अटो दुर्घटना बढ्न थालेपछि नगरपालिका र अटो व्यवसायीका बिचमा भएको छलफलमा उक्त निर्णय भएको हो । अटो दुर्घटनाको जोखिमलाई कम गर्न दर्ता नभएका अटो सञ्चालनमा रोक लगाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नियमानुसार दर्ता नभएका अटो सञ्चालन भएको पाइएकोले दर्ता नभएका अटो सञ्चालनमा तत्काल रोक लगाउने, दर्ता नभएको अटो सञ्चालन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय भएको नगरपालिकाको भनाई छ । त्यस्तै अब देखि मुसिकोटमा एउटा अटोमा चालक बाहेक ३ जना भन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।
चालक बाहेक ३ जना भन्दा बढी यात्रु बोकेको, ओरालो बाटोमा चालु नगरी न्युट्रलमा चलाएको, रुट परमिट भन्दा अन्य रुटमा सञ्चालन भएको, तीव्र गति भएको र दररेट भन्दा बढी भाडा लिएको पाइएमा पनि कारबाही हुने नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । अब देखि नगरमा सञ्चालित अटोको निगरानी बढाइने नगर प्रमुख केसीको भनाई छ ।
मुख्य गरी क्षमता भन्दा बढी यात्रु राखेका कारण समस्या देखिएकोले अटो सेवालाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिका, अटो व्यवसायी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका बिचमा संयुक्त छलफल भएको केसीले जानकारी दिनुभयो ।
नियम विपरीत नगर्ने अटो व्यवसायी तथा चालकहरूले प्रतिबद्धता जनाएको जानकारी गराउँदै नगर प्रमुख केसीले नियम विपरीत अटो सञ्चालन भएको पाएमा र चालक सहित ४ जना भन्दा बढी यात्रु बोकेको पाइएमा नगरपालिका, ट्राफिक प्रहरी तथा प्रहरीकोमा जानकारी गराउन समेत नगरवासीमा अनुरोध गर्नुभयो । साथै चालक सहित ४ जनाभन्दा बढी हुने अवस्थामा यात्रा नगर्न पनि नगरपालिकाले यात्रुहरूलाई अनुरोध गरेको छ ।