रुकुम पश्चिमको त्रिभुवन जनता माविको विद्यालय व्यवस्थापन समिति विघटन गरिएको छ । मुसिकोट नगरपालिकाले त्रिजमाविको विव्यस विघटन गरेको हो । नगर शिक्षा नियमावली २०७४ को परिच्छेद ५ को नियम ३२ को खण्ड ख र घ बमोजिम विव्यस विघटन गरिएको नगरपालिकाले जनाएको छ । विव्यस विघटन गरिएको पत्र नगरपालिकाले विद्यालयमा पठाइसकेको छ । शैक्षिक वातावरण बिथोल्ने काम गरेकोले विव्यस विघटन गरिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।
‘हामीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीलाई सच्चिनका लागि एक महिनाको समय दिएका थियौँ, त्यो समयमा उहाँ सच्चिने त परको कुरा झन् झन् विद्यालयलाई असर गर्ने निर्णय गर्दै जानुभयो, अहिले त विद्यालय बन्द छ तर विद्यालय खुल्यो भने सञ्चालन गर्ने स्थिति नभएका कारण विव्यस विघटन गरिएको हो उहाँले भन्नुभयो ।’
विव्यस विघटनका लागि ३२ जना शिक्षक कर्मचारी मध्ये २९ जना, बहुमत विव्यस सदस्य, शिक्षक अभिभावक सङ्घका ९० प्रतिशतले माग गरेको कुरालाई समेत आधार बनाइएको नगर प्रमुख केसीले बताउनुभयो । वर्षौँसम्म काम गरेका कर्मचारीहरूलाई हटाउने सम्मका काम गरेकोले विद्यालयलाई थप क्षति हुनबाट जोगाउनका लागि नगर कार्यपालिकाको बहुमतका आधारमा विव्यस विघटन गरिएको उहाँको भनाई छ ।
विव्यस विघटन गरिएकाे जानकारी गराउन नगरपालिकाले त्रिजमाविमा पठाएकाे पत्र ।
कानुनी रूपमा अवैध पत्र नगरपालिकामै फिर्ता पठाउँछौ: विव्यस अध्यक्ष केसी
विव्यस अध्यक्ष नरेन्द्र केसी ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले नगरपालिकाले पठाएको पत्र आफू कहाँ पुगेको जानकारी दिनुभयो । तर यो पत्र वैध नभएको भन्दै नगरपालिकामै फिर्ता पठाउने उहाँले बताउनुभयो । ‘यो निर्णय गर्दा नगर कार्यपालिकाका बहुमत नपुगेको, केही कार्यपालिका सदस्यलाई झुक्क्याएर हस्ताक्षर गर्न लगाएको, उहाँहरूले यसमा हाम्रो सहमति छैन भनेर लिखित रूपमै जानकारी गराएको, निर्णयको प्रमाणीकरण नभएको लगायतका कुरालाई आधार मान्दा यो निर्णय अवैध छ, निर्णय नै अवैध भएपछि पत्र वैध हुने कुरा भएन, यो पत्र हामी नगरपालिकामै फिर्ता गर्छौँ, अध्यक्ष केसीले भन्नुभयो ।’
पत्रको कानुनी आधार नभई पत्रलाई नमान्ने उहाँको अडान छ । आफूले विद्यालय सुधारका लागि काम गर्दा आफू माथि सबै खनिएको उहाँको आरोप छ । विद्यालयमा विव्यसले नभई नगर प्रमुखले शैक्षिक वातावरण विथोलेको समेत केसीले आरोप लगाउनुभयो । ‘हामीले एक जना शिक्षकलाई पनि कारबाही गरेका छैनौँ, आन्तरिक स्रोतबाट तलब भत्ता खाने कर्मचारीका विषयमा निर्णय गरेको हो, उहाँले भन्नुभयो–नगर प्रमुखले विद्यालयलाई बिथोल्दै हुनुहुन्छ, उहाँ गम्भीर हुनुभएन भने उहाँका विरुद्ध, अभिभावक तथा राजनीतिक दलहरू कडा रूपमा प्रस्तुत हुँदै छन्, यो कुराको हेक्का रहोस् ।’
माओवादीले भन्यो अल्पमतको निर्णयले विव्यस विघटन हुँदैन, पत्र फिर्ता लिनुहोस्
माओवादी केन्द्र
स्थानीय दल मुसिकोटका
नेता धिरन सिर्पाली
नगर प्रमुख केसीले बहुमतका आधारमा निर्णय भएको बताए पनि नेकपा माओवादी केन्द्र स्थानीय दल मुसिकोटका नेता धिरन सिर्पाली विमर्शले विव्यस विघटन गर्ने निर्णयमा आफूहरूको सहमति नरहेको र निर्णयको पक्षमा हस्ताक्षर समेत नगरेको स्पष्ट पार्नुभएको छ । उक्त निर्णयमा बहुमत नपुगेको समेत माओवादीको दाबी छ ।
‘दलको नेताको तर्फबाट मैले कार्तिक १९ गतेको कार्यपालिका बैठकमा स्पष्ट भाषामा विद्यालय व्यवस्थापन समितिको बारेमा विस्तृत रूपले अध्ययन र छानबिन नगरी स्थानीय सरकारले अकस्मात् हचुवाको भरमा निर्णय गर्नुहुँदैन, यसले विद्यालयको शैक्षिक विकास र उन्नतिमा दूरगामी असर पार्न सक्छ भन्ने धारणा राख्दै विव्यस विघटन गर्न नहुने कुरा राखिएको स्पष्ट पार्न चाहन्छु उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।’
नेकपा माओवादी केन्द्र स्थानीय दल मुसिकोटका नेता धिरन सिर्पाली विमर्शले जारी गरेकाे विज्ञप्ति ।
विव्यस विघटन गर्ने प्रस्ताव तथा निर्णयमा माओवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरूको प्रस्ट रूपमा असहमति रहेको र पार्टीका तर्फबाट निर्णय पुस्तिकाको उपस्थिति खण्डमा हस्ताक्षर गरेका केही कार्यपालिका सदस्यहरूले समेत त्रिजमाविको विव्यस विघटन गर्ने प्रस्ताव तथा निर्णयमा असहमतिको मत दर्ज गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यपालिकाको अल्पमत सदस्यहरूले हस्ताक्षर गरेको विषय कार्यपालिकाको निर्णय हुन नसक्ने माओवादीले जनाएको छ । अल्पमतले विव्यस विघटन हुन नसक्ने भन्दै माओवादीले जानकारी स्वरूप विद्यालयमा पठाइएको पत्र फिर्ता लिन आग्रह पनि गरेको छ ।
सम्बन्धित समाचार