प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले जलविद्युतबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । आज रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेमा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गर्दै शर्माले जलविद्युतबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको हो । ‘हामीसँग प्रशस्त जलस्रोत छ, यसको प्रयोगबाट थुप्रै जलविद्युत आयोजनाहरू निर्माण गर्न सकिन्छ, समृद्धिको जग जलविद्युत हो,’ उहाँले भन्नुभयो ।
रुकुममा एक सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष राखिएको उहाँले बताउनुभयो । १० वर्षभित्र रुकुम पश्चिम र पूर्वमा सानीभेरी नदी तथा अन्य खाेलामा गरी एक सय मेगावाटसम्म विद्युत् निकाल्ने गरी आफूहरू लागेको उहाँको भनाई छ । ‘स्यार्पू पावर कम्पनी मार्फत बाँफिकोटमा एक वर्षभित्र ३.३ मेगावाट बिद्युत् उत्पादन भइसक्छ, यो आयोजना निर्माणकै क्रममा हामीले यसै कम्पनी मार्फत रुकुम पूर्वमा २२ मेगावाटको अर्को आयोजना समेत अघि बढाउँदै छौँ, उहाँले भन्नुभयो–१० वर्षमा हामीले स्यार्पू पावर कम्पनी मार्फत एक सय मेगावाट बिद्युत् उत्पादन गर्छौँ ।’ त्यस्तै उहाँले जलविद्युत मार्फत जनतालाई धनी बनाउने बताउनुभयो ।
बिद्युत् आयोजनामा जनताको शेयर सुनिश्चित गरी गरिबी हटाउने लक्ष सहित काम भइरहेको उहाँको भनाई छ । ‘तपाईँहरूले जति सक्नुहुन्छ स्यार्पू जलविद्युत आयोजनामा शेयर लगानी गर्नुहोस्, वार्षिक रूपमा तपाईँहरूलाई त्यसको मुनाफा बाँड्छौँ, विदेशमा रहेकाहरूलाई पनि देशमा ल्याउने गरी सोचिएको छ, जलविद्युत मार्फत तपाईँहरूलाई धनी बनाउने हो,’ उहाँले भन्नुभयो । साथै उहाँले स्थानीय जनतालाई कुनै असर नपर्ने गरी स्यार्पू जलविद्युत आयोजना निर्माण हुने बताउनुभयो ।
सिँचाई, घट्ट जस्ता कुनै पनि कुरामा असर नपर्ने गरी आयोजना निर्माण हुने उहाँको भनाई छ । त्यस्तै उहाँले रुकुमबाट थालिएको रुकुम उज्यालो कार्यक्रम आफू उर्जा मन्त्री भएका बेला उज्यालो नेपालमा परिणत भएको पनि स्मरण गर्नुभयो । जिल्ला भरमा ४२ वटा लघु जलविद्युत आयोजनाबाट ३ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा त्यसलाई प्रतिस्थापन गर्न स्यार्पू जलविद्युत आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । जिल्लाका स्थानीय तहकाे आर्थिक स्राेत समेत याे आयाेजना बन्ने उहाँकाे विश्वास छ ।