Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेशमा औद्योगीकरण सुरु भइसक्यो: मुख्यमन्त्री शर्मा 
राजकुमार शर्मा ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्धिका लागि औद्योगीकरणको विकल्प नभएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले औद्योगीकरणको विकल्प नभएको बताउनुभएको हो । जतिसक्दो धेरै उद्योग धन्दाहरू सञ्चालन गरेर रोजगारी सृजना गर्नुपर्ने उहाँको भनाई छ ।

आफू जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुँदा देशभरमै नमुनाको रूपमा सरकारी कम्पनी स्यार्पू पावर कम्पनी स्थापना भएको र अब उक्त कम्पनीले सार्थकता पाउन लागेको उहाँले बताउनुभयो । ‘स्यार्पू पावर कम्पनी मार्फत जलविद्युत उत्पादनको काम अघि बढेको छ, स्यार्पू कृषि कम्पनीले डेरी उद्योग सञ्चालन गर्दै छ, जुस उद्योग, गार्मेन्ट उद्योग, काठ उद्योग देखि अन्य उद्योगहरू स्थापना भएका छन्, धेरै उद्योग स्थापनाको तयारीमा रहेका छन्, कर्णाली प्रदेश औद्योगीकरणमा अघि बढिसक्यो,’ उहाँले भन्नुभयो ।

आफू नेतृत्वको कर्णाली प्रदेश सरकारले प्रदेशलाई नमुना बनाउने गरी काम गरिरहेको उहाँको दाबी छ । कसैले बनाएर नमुना नबन्ने भन्दै उहाँले सबैले नमुनाकृत काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारको योजनामा जनताले साथ दिन आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । दैनिक चुले बैठक बस्ने देखि योजना बनाउने र परिवार सञ्चालनका लागि बजेट निर्धारण गरे अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

स्यार्पू जलविद्युत आयोजनाले यहाँका नागरिकको जीवन बदल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आयोजनाले जिल्लावासीलाई आर्थिक रूपमा प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई भनाई छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update