डिभिजन वन कार्यालय रुकुम पश्चिमले मुसिकोट नगरपालिका ८ क्वाम्माखोलाबाट अवैध काठ बरामद गरेको छ । कार्यालयको नियमित गस्ती टोलीले क्वाम्माखोलामा अवैध रूपमा कटान भई राखिएको काठ बरामद गरेको हो । उत्तिस प्रजातिको २३ थान र पाँगर प्रजातिको २५ थान गरी जम्मा कुल ४८ थान चिरानी काठ बरामद गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
काठ अवैध रूपमा कटान मछान गरी झुलखेत–गार्पा जोड्ने कृषि सडक छेउमा लुकाई राखेको अवस्थामा बरामद गरिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उहाँको भनाई छ । डिभिजन वन कार्यालयले नियमित गस्तीलाई बढाएको छ भने वन सुशासनलाई कडाइका साथ अघि बढाएको छ ।
कार्यालयले शुक्रवार मात्र त्रिवेणी गाउँपालिका ५ को भोखाधुरी सामुदायिक वनबाट एक थान गोलिया र ३३ थान अवैध रूपमा चिरानी गरिएको काठ बरामद गरेको थियो ।