राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय स्तरको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हो । यसको उद्देश्य विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने हो । यसलाई वि.सं. २०६५ सालसम्म वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना गरिन्थ्यो । देशमा गणतन्त्रात्मक शासन व्यवस्था लागु भएपछि वि.सं. २०६६ साल देखि यसको नाम परिवर्तन गरी राष्ट्रपति रनिङ शिल्डको नामले सञ्चालन भइरहेको छ । र प्रत्येक वर्ष विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाहरूको क्षमता प्रस्फुटन गर्न यो शिल्ड नियमित र अनिवार्य सञ्चालन गर्नुपर्ने देखिन्छ ।
महत्त्व
विद्यालय तहमा अध्ययनरत विद्यार्थी (खेलाडी)हरूलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नका लागि यो शिल्ड महत्त्वपूर्ण मानिन्छ । राष्ट्रपति रनिङ शिल्डको महत्वलाई बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ ।
- विद्यार्थीहरूमा लुकेर रहेको आन्तरिक खेल क्षमतालाई प्रस्फुटन गर्न,
- विद्यालयहरूको बिचमा एक अर्कामा सहयोग, मैत्रीपूर्ण सम्बन्ध कायम गर्न,
- उच्च स्तरको खेल कर्तृत्व प्रदर्शन गर्न,
- विद्यालय, स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रका लागि आवश्यक पर्ने खेलाडीहरू उत्पादन गर्न,
- खेलकुदको माध्यमबाट देशको शान, मान, गौरव र राष्ट्रिय पहिचान कायम गर्न ।
राष्ट्रपति रनिङ शिल्डमा समावेश हुने खेलहरू
राष्ट्रपति रनिङ शिल्ड निर्देशिका २०७० को पाँचौँ संशोधन २०८०/०८/११ अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गरिएका खेलहरुः–
१. भलिबल: छात्र, छात्रा
२. कबड्डी: छात्र, छात्रा
३. एथलेटिक्स
क) दौड (ट्र्याक तर्फ)
छात्र: १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि., ४x१०० मि. रिले, ४x४०० मि. रिले ।
छात्रा: १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि., ४x१०० मि. रिले, ४x४०० मि. रिले ।
ख) उफ्रने र फ्याँक्ने (फिल्ड तर्फ)
छात्र: हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सट फुट १२ पाउन्ड ।
छात्रा: हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ६०० ग्राम, सट फुट ८ पाउन्ड ।
मार्सल आर्ट तर्फ
क) कराते
छात्र: ४२ के.जी. मुनि, ४७ के.जी. मुनि, ५२ के.जी. मुनि, ६२ के.जी. मुनि, काता (एकल) ।
छात्रा: ४० के.जी. मुनि, ४५ के.जी. मुनि, ५० के.जी. मुनि, ५५ के.जी. मुनि, ६० के.जी. मुनि, काता (एकल) ।
ख) तेक्वान्दो
छात्र: ४५ के.जी. मुनि, ४८ के.जी. मुनि, ५१ के.जी. मुनि, ५५ के.जी. मुनि, ५९ के.जी. मुनि, एकल पुम्से ।
छात्रा: ४२ के.जी. मुनि, ४४ के.जी. मुनि, ४६ के.जी. मुनि, ४९ के.जी. मुनि, ५२ के.जी. मुनि, एकल पुम्से ।
ग) उसु
थाओलो तर्फ:
छात्र: Chang Quan, Nan Quan, Taiji Quan.
छात्रा: Chang Quan, Nan Quan, Taiji Quan.
सान्सोँ तर्फ:
छात्र: ४२ के.जी., ४५ के.जी. र ४८ के.जी. ।
छात्रा: ४२ के.जी., ४५ के.जी. र ४८ के.जी. ।
रुकुम पश्चिममा राष्ट्रपति रनिङ शिल्ड
रुकुम पश्चिममा ६ वटा स्थानीय तहहरू छन् । जसमा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिका पर्दछन् । सानीभरी गाउँपालिकाले अहिले पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिरहेको छ । चौरजहारी नगरपालिकाले १४ औँ राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्दै छ । त्यस्तै गरी बाँफिकोट गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरेको छ । आठबिसकोट नगरपालिकाले चौथो शिल्ड गरेको छ । त्रिवेणी गाउँपालिकाले दोस्रो राष्ट्रपति रनिङ शिल्ड भर्खरै सम्पन्न गरेको छ । भने मुसिकोट नगरपालिकाले पनि दोस्रो राष्ट्रपति रनिङ शिल्ड यो वर्ष सञ्चालन गर्दै छ ।
यसरी हेर्दा रुकुम पश्चिमका स्थानीय तहहरूमा राष्ट्रपति रनिङ शिल्ड नियमित सञ्चालन गर्दै आएको सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिका अग्र पङ्तिमा रहेको देखिन्छ । मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डलाई आफ्नो नियमित कार्यक्रममा राखी सञ्चालन गर्नुपर्ने देखिन्छ । राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बर्सेनि सात सय ५३ वटै स्थानीय तहमा एक लाखका दरले बजेट समेत पठाइदिने गरेको छ । यति हुँदा पनि स्थानीय तहले निरन्तर शिल्ड सञ्चालन गर्न नसक्नु दुःखद हो । यसले पनि देखाउँछ कि स्थानी तहहरू खेलकुदमा गम्भीर छैनन् । खेलाडी उत्पादनको महत्त्वपूर्ण स्थान विद्यालय भएकोले राष्ट्रपति रनिङ शिल्ड नियमित रूपमा सञ्चालन हुन अति नै जरुरी छ । यसको लागि पर्याप्त बजेट व्यवस्थापन, खेल संरचना निर्माण, दक्ष प्राविधिक उत्पादनमा ध्यान दिनुपर्ने देखिन्छ ।
राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी यसरी बनाउन सकिन्छ:
- पर्याप्त मात्रामा बजेट विनियोजन, खेल संरचना तथा सामग्री र दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गर्ने,
- निष्पक्ष, पारदर्शी र मैत्रीपूर्ण तरिकाले खेल सञ्चालन गर्ने,
- कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १८ वर्ष मुनिका विद्यार्थीहरु बिच मात्र प्रतिस्पर्धा गराउने,
- विद्यालय विद्यालय बिचको प्रतिस्पर्धालाई स्वच्छ र मर्यादित बनाउने,
- फर्जी विद्यार्थी निरुत्साहित गर्ने,
- फर्जी विद्यार्थी राख्ने विद्यालय र गेम शिक्षकलाई आवश्यक विभागीय कारबाही गर्ने,
- विकास, अनुशासन र गतिशीलता कायम गर्ने,
- पदक विजेता विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने,
- सहभागी विद्यालयलाई आर्थिक सहायता दिने,
- खेल सञ्चालनका लागि दक्ष, तालिम प्राप्त निर्णायकको व्यवस्था गर्ने,
- राष्ट्रपति रनिङ शिल्ड सम्बन्धी व्यक्तिगत फारम भरेर मात्र खेलमा सहभागी गराउनुपर्ने ।
राष्ट्रपति रनिङ शिल्डलाई उत्सवका रूपमा लिनुपर्दछ । यो नै विद्यालय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता हो । यसको गरिमालाई सबै मिलेर बढाउनुपर्छ । सञ्चालनका नाममा औपचारिकता मात्र पुरा गर्ने कुराले उपलब्धि दिँदैन । यसलाई सबै स्थानीय तहले वार्षिक क्यालेन्डरमै समावेश गरेर अनिवार्य कार्यान्वयन गर्नुपर्छ । यो वा त्यो बहानामा शिल्ड सञ्चालन नगरी विद्यार्थीलाई शिल्डबाट वञ्चित गर्नु किञ्चित राम्रो होइन । जुन उद्देश्यका साथ शिल्ड सञ्चालनमा छ सो उद्देश्य पुरा हुने गरी शिल्ड सञ्चालन हुनुपर्छ । यसमा नागरिक समाज, अभिभावक तथा अन्य सरोकारवालाले सम्बन्धित निकायलाई सहयोग गर्ने, सुझाव दिने, झकझक्याउने गरिरहनुपर्छ । यो प्रत्येक सचेत नागरिकको दायित्व हो ।
लेखक रुकुम पूर्वकाे जनता मावि पाेखराका शिक्षक तथा जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका काेषाध्यक्ष हुनुहुन्छ ।