२०५२ साल फागुन १ गते आठविसकोटको इलाका प्रहरी चौकी कब्जा भयो । घंङ्गारुको लट्ठीले युद्ध सुरु गरेको भनेर माओवादीले देश भित्र र बाहिर प्रचार पनि ग¥यो । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध घोषणा गरेपछिको पहिलो आक्रमण मध्यको एक आठविसकोट इलाका प्रहरी कार्यालय आक्रमणका बेला आक्रमणकारी माओवादीका साथमा घंङ्गारुको लट्ठी मात्रै थिएन । घरेलु हतियार साबेल, गैंटी, बेल्चा, घन, सहित केही थान बार बोर बन्दुक, केही थान भरुवा बन्दुकको साथै एउटा होल टाइमर राइफल पनि थियो । सेक्टर काण्डबाट कब्जा भएको होल टाइमर राइफल आठविसकोट इलाका प्रहरी चौकी आक्रमणको क्रममा प्रयोग भएको थियो । अन्य सहायक हतियार भए पनि होल टाइमर राइफलकै बलमा माओवादीहरू चौकी आक्रमणको लागि तयार भएका थिए । २०४३ सालमा भएको सेक्टर काण्डबाट कब्जा भएको राइफललाई होल टाइमर राइफल भनिन्थ्यो । तत्कालीन जनमोर्चाका महामन्त्री मोहन वैद्यले काठमान्डौँको एउटा प्रहरी चौकीबाट सो राइफल कब्जा गरेका थिए । उक्त राइफलले एक पटकमा एउटा मात्रै फायर गर्दथ्यो । यद्यपि माओवादीहरूले सशस्त्र युद्ध घोषणा गरेको पहिलो आक्रमण स्वरूप इप्रका आठविसकोट कब्जाको क्रममा कुनै पनि हतियार फाएर गरेनन् ।
माओवादी र प्रहरी कसैबाट त्यो २ घण्टाको अवधिमा गोली चलेन । माओवादीले सोचे जति इप्रकाबाट हात हतियार कब्जा भने गर्न सकेनन् ।
२८ वर्ष अघि, २०५२ माघ २९ गते सोमबार दिनभर रुकुमको दुली–१, स्थित सारदुलामा रहेको एउटा घरको तल्लो कोठामा दिनभर बसेर माओवादीहरूले एउटा योजना बनाए । तत्कालीन नेकपा माओवादीले घोषणा गरेको सशस्त्र युद्धको पहिलो कारबाहीका निम्ति सारदुलामा दुई दर्जन माओवादीका कार्यकर्ता भेला भएका थिए । आठविसकोट गाविसको राडीबजारको ठुलीभेरी किनारैमा रहेको इलाका प्रहरी चौकी कब्जाको तयारीमा उनीहरू थिए । युद्ध घोषणा पछिको पहिलो कारबाहीको निशानामा थिए रुकुमको आठविसकोट, रोल्पाको होलेरी र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी । यी तीन प्रहरी चौकी मध्य इलाका प्रहरी कार्यालय आठविसकोट कब्जाको सबै तयारी सारदुलाको एउटा घरको तल्लो तलामा भएको थियो । आठविसकोट इलाका प्रहरी कार्यालय आक्रमणको राजनीतिक कमान्डर हेमन्तप्रकाश ओली थिए भने फिल्ड कमान्डरको जिम्मा पाएका थिए गणेशमान पुनले । जति बेला पुन २२ वर्षका मात्रै थिए । आठविसकोट इप्रका आक्रमणमा जाने केही बाहेक अधिकांशलाई सारदुला पुगेपछि मात्रै हामी प्रहरी चौकी आक्रमणमा जाँदै छौँ भन्ने कुरा थाहा दिइएको थियो । एक दिनभरको प्रशिक्षणको भरमा इलाका प्रहरी चौकी कब्जा गर्ने बाचा बाहेक अरू केही सिकाइएको थिएन ।
कम्तीमा दुई दर्जन प्रहरी भएको अनुमानमा आक्रमणको तयारी गरिए पनि चौकीमा भने करिब एक दर्जन प्रहरी मात्रै आक्रमणको क्रममा फेला परेका थिए ।
माघ २९ गते दिनभर सोही घरको तल्लो तलामा इलाका प्रहरी कार्यालय कब्जाको तयारी, आवश्यक बन्दो वस्त, म्याप अध्ययन, इप्रकामा सम्भावित जनशक्ति लगायतका विषयमा प्रशिक्षण दिइयो । दिनभरको प्रशिक्षणपछि फिल्ड कमान्डर गणेशमान पुनको नेतृत्वमा इलाका प्रहरी कार्यालय आठविसकोट आक्रमणका लागि माओवादीहरू सारदुलाबाट अघि बढे । सारदुलाबाट आठविसडाँडागाउँ गाविसमा पुगेर बेलुकीको खानापछि अघि बढेका उनीहरूले राती ११ बजे इप्रका आक्रमणका निम्ति राडी पुगेका थिए । ११ बजे इप्रका आक्रमण थालेका उनीहरूले करिब दुई घण्टापछि इप्रका पूरै कब्जा गर्न सफल भएका थिए । चौकीमा रहेका सम्पूर्ण बन्दोवस्तीका सामग्री कब्जा गरेका उनीहरूले प्रहरी बसेको स्थानीय लोकेन्द्र बटालाको पसलको सामान पनि बगिरहेको भेरीमा बगाइदिएका थिए । माघ २९ गते राती ११ बजे चौकी आक्रमणको निम्ति राडी पुगेका उनीहरू फागुन १ गते बिहान ३ बजे सफल भएर फर्किएका थिए ।
माओवादीले सुरु गरेको सशस्त्र युद्धको पहिलो आक्रमणमा कसैको हता हती भएन । माओवादीका अनुसार उनीहरूको योजना पनि प्रहरीको हत्या गर्नु नभै चौकी कब्जा गर्नु र उनीहरूलाई सम्झाउनु मात्रै थियो । माओवादी र प्रहरी कसैबाट त्यो २ घण्टाको अवधिमा गोली चलेन । माओवादीले सोचे जति इप्रकाबाट हात हतियार कब्जा भने गर्न सकेनन् । चौकीबाट उनीहरूले हतियार बाहेक थ्री नट थ्री राइफलको गोली, डाइनामाइट, ङ्खयूल वायर, अन्य बन्दोवस्तीका सामग्रीहरु कब्जामा लिए । इप्रकामा भएका दुई वटा थ्री नट थ्री राइफल सदरमुकाम खलङ्गा लिइएको कारण माओवादीले ती हतियार कब्जामा लिन सकेनन् । प्रहरी कर्मचारीको तलब बुझ्न सदरमुकाम पुगेका प्रहरीले हतियार पनि सँगै सदरमुकाम ल्याएपछि चौकी हतियार विहीन बनेको कुरा उनीहरूले पछि मात्रै थाहा पाए । इलाका प्रहरी चौकीमा भने जतिको जनशक्ति पनि रहेनछ । कम्तीमा दुई दर्जन प्रहरी भएको अनुमानमा आक्रमणको तयारी गरिए पनि चौकीमा भने करिब एक दर्जन प्रहरी मात्रै आक्रमणको क्रममा फेला परेका थिए । प्रहरी चौकीमा भएको विभिन्न निवेदन मुद्दा मामिलाका कागजात पनि माओवादीले आक्रमणको क्रममा नष्ट पारेका थिए ।
जनयुद्धको पहिलो आक्रमण कुनै कारणवश हारियो भने जनयुद्धको आगामी बाटो असहज पनि बन्न सक्ने भय सबैमा कायम थियो ।
उक्त चौकी आक्रमण गर्न रुकुमका मात्रै माओवादी गएका थिएनन् । रुकुमका २३ जना, डोल्पा र जाजरकोटका अन्य गरी करिब ३४ जना माओवादी चौकी आक्रमणमा संलग्न भएका थिए । चौकी नजिकै रहेको जाजरकोट र पायक पर्ने डोल्पा जिल्लाबाट पनि केही माओवादी चौकी आक्रमणमा सघाउन पुगेका थिए । तर आक्रमणको सारा कमान्ड भने रुकुमले मात्रै गरेको थियो । हात हतियार बोक्नेदेखि आक्रमणको बेला बनाइएको विभिन्न समूहको नेतृत्वमा रुकुमकै माओवादी थिए । चौकीको सफल आक्रमणको निम्ति विभिन्न समूह विभाजन गरिएको थियो । जनयुद्धको पहिलो आक्रमण कुनै कारणवश हारियो भने जनयुद्धको आगामी बाटो असहज पनि बन्न सक्ने भय सबैमा कायम थियो । त्यसैले पनि आक्रमण सफल बनाउन विभिन्न समूह निर्माण गरिएको थियो । विशेष गरी समूहले पाएको आ आफ्नो जिम्मेवारी पूरा गर्नै पर्ने थियो । रुकुम मुरुका दौलतराम घर्ती जो २०५३ मङ्सिर ३ गते डोल्पाको त्रिवेणि प्रहरी चौकी कब्जा गर्ने क्रममा मारिए । उनले आक्रमण समूहको कमान्डिङ गरेका थिए । उनको समूहको मुख्य जिम्मेवारी चौकीमा रहेको स्टोर कब्जा गरेर हतियार कब्जा गर्नु थियो । रिजर्भ समूहका कमान्डर थिए महेश्वर गहतराज उनको समूहले युद्ध सामग्री सकिएको खण्डमा थप मद्दत गर्ने जिम्मेवारी पाएको थियो । यज्ञेश्वर शर्मालाई एसल्ट ग्रुपको कमान्डर बनाइएको थियो भने मेघबहादुर श्रेष्ठ स्कटिङ समूहका कमान्डर थिए ।
चौकी आक्रमणको सबै तयार पूरा भएपछि राजनीतिक कसिमार हेमन्तप्रकाश ओली, पूर्ण घर्ती सहितको टोली चौकीबाट कब्जा भएको सामग्री व्यवस्थापन गर्ने ठाउँ व्यवस्थापनका लागि दुलीबाट मग्मा, वाँफीकोट हुँदै पीपल गाविस पुगेको थियो भने फिल्ड कमान्डर गणेशमान पुन नेतृत्वको टोली आठविसकोट इलाका प्रहरी चौकी आक्रमणका लागि त्यसतर्फ गएको थियो । इलाका प्रहरी चौकी आक्रमण भइसकेपछि डोल्पा र जाजरकोटको टोली उतैबाट आ–आफ्नो जिल्लाकै कार्यक्षेत्रमा फर्क्यो भने त्यहाँबाट कब्जामा लिइएको सामग्री सहितको रुकुमको टोली मग्माको धब्लीवाङमा फागुन १ गते बिहानको खाना खान पुग्यो । बिहानको खाना खाएर पीपल गाविस पुगेको टोलीले आठविसकोट इलाका प्रहरीबाट कब्जामा लिएका सामग्री पीपल गाविसको विभिन्न ठाउँमा राख्यो । त्यसपछि थालनीको निरन्तरता भन्दै सो आक्रमण संलग्न टोली लडाकु दलको तालिममा सहभागी भयो ।
- जनयुद्धको उद्देश्य विपरीत भएन र ?
- जनयुद्धले रैतीका रूपमा रहेका नेपालीहरूलाई सार्वभौमसत्ता सम्पन्न बनायो