Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्धको उद्देश्य विपरीत भएन र ?

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा घटेका घटनाहरू मध्ये सर्वाधिक महत्त्व बोकेको दिन हो, २०५२ साल फाल्गुन १गते । इतिहासका पानामा यो दिनलाई महान् जनयुद्ध दिवसको नामले अङ्कित भइरहने छ।हरेक फागुन१ गतेको दिनलाई नेपालका शोषित, उत्पीडित जनताले उच्च मनोबल सहित भव्य पर्वको रूपमा मनाउँछन् भने भ्रष्ट, शोषक, दलाल, देशघाती, जनघाती, धोकेबाज, गद्दारहरू यस दिनको निन्दा गर्छन् र भयातुर हुन्छन् । साच्चिनै यो दिन सच्चा क्रान्तिकारीहरूको लागि गौरवको प्रतीक हो । यस दिनको जन्म अनायासै भएको होइन, यसका लागि नेपालका क्रान्तिकारीहरूको दशकौँ लामो सैद्धान्तिक तथा विचारधारात्मक सङ्घर्ष भएको छ । सङ्गठन निर्माणमा आकथानिय दुःख कष्ट, जेल जीवन, कठोर यातना मात्र होइन बलिदान समेत भएको छ ।

जनयुद्धको उद्देश्य अर्ध सामन्ती र अर्ध औपनिवेशिक अर्थ प्रणालीको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने थियो । त्यसको लागि तत्कालीन राजतन्त्रात्मक संसदीय व्यवस्थाको विरुद्ध सशस्त्र सङ्घर्ष घोषणा गरेको थियो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले । सम्पूर्ण शोषित पीडित जनताको सहभागिता रहेको, हजारौँले बलिदान गरेको, लाखौँ जनताको श्रम शक्ति, आँसु, पसिना र रगतको लगानी लागेको, बुद्धिजीवी, पत्रकार, कलाकार, विद्यार्थी, शिक्षक प्राध्यापक समेत सहिदको लाइनमा लामबद्ध रहेकोले यसलाई महान् जनयुद्ध भनिएको हो । जनयुद्धका नेतृत्वले समय सापेक्ष मालेमावादमा रक्षा, प्रयोग र विकास गर्नुको सट्टा संशोधनवादी र साम्राज्यवादी सँग साँठगाँठमा संसदीय प्रणाली भित्र छिरेर विचलनको बाटो समातेको हुनाले जनयुद्धको गरीमामा आँच पुग्यो ।

यसलाई न्यूनीकरण गर्न थालियो । महान् जनयुद्धलाई राणा, राजा र काँग्रेस बिचको केवल कुर्सी साटासाटको घटना २००७ फागुन ७ गतेभन्दा कम महत्त्व दिइएको छ । महान् जनयुद्ध दर्शनबाट निर्देशित जनबलमा आधारित जनमुक्तिको प्रक्रिया हो । आज आएर तत्कालीन नेताले आम जनता र पार्टी कार्यकर्तालाई दर्शन विहीन बनाएर एक थरीलाई संसदीय आहालमा डुबाइएको छ भने अर्को थरी युवा जनशक्तिलाई मानव तस्करद्वारा विश्व श्रम बजारमा बेचिन बाध्य पारिएको छ । जनयुद्धको उद्देश्य विपरित भएन र ? आजको युवा पिँढीले गम्भीरतापूर्वक जनयुद्धको लक्ष्य, उद्देश्य, उत्पत्ति, अन्तर्य र इतिहासको अध्ययन गर्न सके मात्र जनयुद्धके महत्त्व बोध हुनेछ र जनयुद्ध प्रति न्यायपूर्ण मूल्याङ्कन हुनेछ । जनयुद्धका महान् सहिद लाल सलाम !

सम्बन्धित समाचार

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update